नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीबार साँझ अचानक अनियन्त्रित भई सडक छेउको बिजुलीको खम्बामा ठक्कर खाँदा करेन्ट लागेर कार चालक बर्दघाट ४ शिव कोलोनी निवासी ५२ वर्षीय हरिकृष्ण भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार सोही स्थानका ३९ वर्षीय गोकर्ण शर्मा र ४२ वर्षीय रामप्रसाद पाण्डे घाइते भएका छन् । शर्माको टाउको र पाण्डेको ढाडमा चोट लागेको र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

यस्तै, बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं १ कुसुममा गए राति सवारी दुर्घटना हुँदा एक प्रहरीको ज्यान गएको छ । दाङबाट कोहलपुरतर्फ आउने क्रममा सडक दुर्घटनामा परी बारबर्दिया नगरपालिका –४ घर भएका प्रहरी जवान अनिल थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी कुसुमको एम्बुलेन्समा घाइते थारुलाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर ल्याइएकामा बाटैमा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया