नवलपुर । नेपाली कांंग्रेस जिल्ला सदस्य एवं तरुण दलका पूर्वकेन्द्रीय सदस्य कमलप्रसाद पराजुलीद्वारा मजदुरलाई खाद्य सामग्री वितरण गरेका छन् ।

१३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले स्थानीय मजदुर, विपन्न, ज्यालादारीलाई खाद्य सामग्री वितरण गरेका हुन् । पराजुलीले उनीहरुलाई चामल, दाल, तेललगायतका खाद्य सामग्री वितरण गरेका थिए ।

वितरणपछि बोल्दै पराजुलीले देशभर लकडाउन भइरहेको र मे दिवसमा समेत दैनिक जीवन यापन गर्न अप्ठेरो परेका गैँडाकोट नगरपालिका वडा नं ४ का ५३ घरपरिवारलाई खाद्य सामग्री वितरण गरिएको बताए ।

‘लामो लकडाउनले सबैभन्दा बढी मारमा मजदुरहरु परेको मैले महसुस गरेँ’, उनले भने, ‘उनीहरुलाई राहतस्वरुप खाद्य सामग्री उपलब्ध गराएको हुंँ ।’ विपद् र महामारीको बेला उनीहरुको चुलोचौका बल्न नसकेको अवस्थामा एक जिम्मेवार राजनीतिक दलको सक्रिय नेता र सचेत नागरिकको हैसियतले आफ्नो दायित्व निर्वाह गरेको उनको भनाइ थियो ।

लकडाउन सुरु भएदेखि नै उनले नगरपालिकाका त्यस्ता मजदुर तथा विपन्न वर्गलाई खाद्य सामग्री सहयोग गर्दै आएका छन् । उनका अनुसार आज पराजुली वडा नं ३ का त्यस्ता ३८ घरपरिवारलाई खाद्य सामग्री वितरण गरेका थिए भने यसअघि वडा नं ७, ८, ९ का विपन्न ४६ घरपरिवारलाई खाद्य सामग्री वितरण गरिसकेका छन् ।

मानवीय धर्मजस्तो अरु कुनै धर्म नभएकोले र स्थानीय सरकारले समेत मजदुरलाई बेवास्ता गरेकोले पनि आफूले सक्दो सहयोग गर्दै आएको उनले बताए । लकडाउनकै समयमा उनले देवघाटको श्री रामजानकी आश्रममा समेत खाद्य सामग्री प्रदान गरेका छन् । आगामी दिनमा समेत यस कार्यलाई निरन्तर गर्दै जाने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया