चितवन । अटोमोबाइल व्यवसायीद्वारा जिल्लामा रहेका यातायात मजदुर, मेकानिक्स, श्रमिकलगायतलाई खाद्यान्न वितरण गरिएको छ । यातायात मजदुरमाथि राज्यको आंँखा नपरेको र स्थानीय सरकारले समेत बेवास्ता गरेको भन्दै व्यवसायीहरुले राहत वितरण गरेका हुन् ।
चितवन अटो मेकानिकल व्यवसायी संघ र अटोमेकानिकल बचत तथा ऋण सहकारी संस्था, नारायणगढको सहकार्यमा आज १०० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष एवं चितवन चेम्बरका उपाध्यक्ष गोपाल भट्टराईले यातायात एवं अटोमोबाइल क्षेत्रमा रहेका मजदुर, मेकानिक्स, चालक , सहचालकलाई दैनिक जीवनयापन गर्न कठिन भएकोले राहत सामग्री वितरण गरिएको बताए ।

‘उनीहरुमाथि नत राज्यको आंँखा पर्‍यो न त स्थानीय सरकार नै, काम र माम नपाएकालाई हामीले राहत वितरण गरेका हौं’, उनले भने ।

उनका अनुसार त्यस्ता घर परिवारलाई तीन हप्तालाई पुग्ने चामल, दाल, पिठो, चना, सोयाबिनलगायतका खाद्य सामग्री वितरण गरिएको छ ।

वितरण कार्यक्रममा बोल्दै अटोमेकानिकल ऋण तथा बचत सहकारीका अध्यक्ष नारायण कँडेलले भारत र जिल्लाबाहिर घर भएर यहांँ अटोमोबाइल क्षेत्रमा काम गर्ने मजदुरलाई लक्षितगरी राहत सामग्री वितरण गरिएको बताए ।

‘लकडाउनमा विपन्न परिवार, मजदुर सबैले राहत पाइरहेको देख्यौँ, उनले भने, ‘यातायात मजदुरले हालसम्म केही पाएका रहेनछन्, त्यसैले हामीले यो अभियान थालेका हौं ।’

उनका अनुसार लकडाउनका कारण यातायात क्षेत्र अस्तव्यस्त रहेको र यसको टुंगो निश्चित नरहेकोले यो क्षेत्रमा आश्रितलाई राहत सामग्री वितरण गरिएको उनको भनाइ छ । हाल संस्थाले जिल्लामा रहेका जोकोही यातायात मजदुर, श्रमिक, मेकानिक्सलाई राहत लिन आउन आग्रह गरेको छ । आज १०० जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने कँडेलको भनाइ छ ।

उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको ३६ वटा बस्तुगत संघले लकडाउन सुरु भएदेखिनै राहत वितरण र खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।

‘हरेक उद्योग व्यवसायमा ज्याला मजदुरको उत्तिकै महत्त्व हुन्छ’, उनले भने, ‘विपद्को बेलामा हामीले अभिभावकको भूमिका निर्वाह गरेका हौँ ।’ संस्थागत सामाजिक उत्तरदायित्व बहन र मानवीय धर्म निभाउने उद्देश्यले उद्योग व्यवसायीले जिल्लाभर नै राहत सामग्री वितरण कार्यालयलाई तीव्रता दिँइदै आएको श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया