काठमाडौँ । नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उक्त घटनाले आफ्नो पार्टीसँगै सिंगो देश मर्माहत भएको उल्लेख गर्दै त्यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उनले भन्नुभएको छ, ‘द्वन्द्वको दशकले छाडेका चोटहरू खाटा बस्न एकातर्फ अझै बाँकी छ, तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबैलाई हृदयदेखि गम्भीर र आत्मालोचित बनाउने अपेक्षा छ ।’

रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार बम बिस्फोटमा परी ११ वर्षीया विमला खत्री, पाँच वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो ।

कांग्रेसले बिस्फोटमा मृत्यु भएका बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो कारुणिक पीडाको घडीमा सम्बन्धित परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया