चितवन । झण्डै डेढ महिनासम्म देश लकडाउनबाट गुज्रिरहेका बेला भरतपुर महानगरपालिका वडा नं १२ का युवा व्यवसायी सुजन ओझाले सामाजिक र मानवीय काम गरेर उदाहरण बन्न सफल भएका छन् ।
सानैदेखि मनकारी स्वभावका ओझा छोटो समयमै एक सफल व्यवसायीको रुपमा परिचित छन् । उनले आफ्नो व्यवसायसंँगै सामाजिक कामलाई समेत निरन्तरता दिँदै आएका छन् । ओझाले लकडाउनको समयमा प्रताडित र दैनिक जीवनयापन गर्न कठिन त्यस्ता व्यक्तिहरुलाई खाद्य सामग्री एवं आर्थिक सहयोग गर्दै आएका छन् ।
लकडाउनको सुरुवाती क्षणमै उनले देवघाटमा रहेका २६ विपन्न परिवारलाई खाद्य सामग्री प्रदान गरे । उनी यतिमा मात्र सीमित रहेनन् । आफ्नै वडाका विपन्न परिवार, मजदुर वर्गलाई समेत उनले खाद्य सामग्री वितरण गरे ।
‘सबैभन्दा ठूलो धर्म मानवसेवा नै बताउने ओझा भन्छन्, ‘मानवसेवाजस्तो संसारमा कुनै सेवा छैन । पैसा त जसले पनि कमाउन सक्दछ ।’
लकडाउनको समयमा उनले व्यक्तिगतरुपमा राहत वितरण गर्दै आएका छन् । त्यतिमात्र होइन, ओझाले दर्जनौँ संस्थालाई खाद्य सामग्री, आर्थिक सहयोग गर्दै आएका छन् । व्यवसायको धर्म व्यवसायमात्र नभई मानवसेवा पनि अनिवार्य गर्नुपर्ने उनको भनाइ छ । सानैदेखि दयालु स्वभाव र दुःखी गरिबको भावना बुझ्ने ओझाले विभिन्न संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा समेत सक्रिय टन् ।
‘मैले मेरो हैसियतले भ्याएसम्म मानवसेवा गर्दै आएको छु’, उनले भने, ‘चाहे त्यो आर्थिक सहयोग तथा मानवसेवा नै किन नहोस् ।’ उनका अनुसार ओझाले आफ्नो जीवनकालमा २० पटकभन्दा बढी रक्तदान गरिसकेका छन् । लकडाउनको समयमा रगत अभाव हुने भएकोले आफूले रक्तदान गरेको बताए ।
‘मैले विभिन्न संस्थामार्फत रक्तदान कार्यक्रमलाई समेत तीव्र बनाएको छु साथीभाइहरुलाई समेत आग्रह गरेको छु’ उनले भने । उमेरले तीन दशकमात्र काटेका ओझा मानवसेवा गर्न पाउंँदा सन्तुष्ट मिलेको बताउँछन् ।
‘मलाई मानवसेवा गर्दा अलग्गै आनन्द प्राप्त हुन्छ, उनले भने, हुने खाने वर्गले हुंँदा खांँदालाई सहयोग गरेका छन् ।’ आफ्नो व्यवसाय धर्मको साथै मानवीय धर्म निभाएका ओझाले देशमा विगतका समयमा पनि देशलाई विपद् परेको बेला आर्थिक सहयोग गर्दै आएको बताए । यस्तो महामारीको बेला राज्यको मुख ताक्न नहुने भन्दै आम युवाहरुले हातेमालो गर्नुपर्ने उनको भनाइ छ । मानवधर्मलाई सर्वोपर्री ठान्ने उनी दर्जनौँ संस्थाबाट सम्मानित भइसकेका छन् ।
भविष्यमा समेत समाजसेवा र मानवसेवालाई निरन्तरता दिँदै जाने उनले प्रतिबद्धता जनाए । अहिलेको २१ औं शताब्दीको यो भौतिक संसारमा मानवीयता हराउंँदै गएको बेला युवा व्यवसायी एवं परोपकारी ओझाबाट केही सिक्न सक्नुपरेको छ ।












