-अजित अधिकारी
वीरगञ्ज । खुला सीमा क्षेत्रबाट लुकिछिपी आउने क्रमलाई रोक्न तराईका जिल्लाहरुमा स्थानीय प्रहरी प्रशासनले थप बल प्रयोग गरी आवतजावतलाई पूर्णरुपमा बन्देज लगाउने भएको छ ।

लकडाउनको समयमा समेत खुला सीमाको कारण नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम बढदै गएपछि प्रहरी प्रशासनले सीमा केन्द्रित सुरक्षा रणनीति अपनाउन लागेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए ।

बारा, पर्सा, रौतहटलगायतका सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने देखिएको बस्नेतले बताए ।

सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमित पहिचानका लागि परीक्षणको दायरा विस्तार गरेसँगै सीमावर्ती क्षेत्रमा बढी संक्रमित भेटिएका छन् । वीरगञ्ज तथा बारा, रौतहटमा देखिएका संक्रमितहरु खुला सीमाको कारण नेपाल प्रवेश गरेका भारतीय नागरिक र भारतमा गएका नेपाली नागरिकमा संक्रमण देखिएसँगै सिमावर्ती क्षेत्रमा जोखिम बढी देखिएको छ ।

नेपाल र भारतबीच एक हजार ७५१ किलोमिटर खुला सीमा छ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । त्यहाँ संक्रमितको संख्या ३७ हजार नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २४७ पुगेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले ज्वरो नआएको र खोकी लागिरहेको छैन भन्दैमा स्वस्थ्य मान्न नसकिने बताउँदै अहिले वीरगञ्ज तथा नेपालमा कुनै लक्षण नदेखिएको अवस्थामा पनि कोरोना संक्रमण देखिएको हुँदा आमनागरिक सचेत हुनुपर्ने कुरामा जोड दिए ।

सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरुलाई लक्षण नदेखिए पनि रातारात भारतबाट आउने व्यक्तिहरुबाट संक्रमणको खतरा रहेको हुँदा पिसिआर विधिबाट परीक्षणको दायरा बढाउँदै यसलाई जनस्तरमा पुर्‍याउनु पर्ने कुरामा उपाध्यायले जोड दिए ।

अहिले पर्सा जिल्लाका स्थानीय तह तथा वीरगञ्जमा रहेका १६ वटा क्वारेन्टाइनमा १० महिलासहित २५० जना रहेका छन् । त्यसैगरी नारायणी अस्पतालको आइसोलेसनमा ८ जना संक्रमितको उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

वीरगञ्जमा पिसिआर परीक्षण गरिएका ६३५ जनामध्ये ६०१ जनाको रिपोर्ट नेगेटिभ आएको र आरडिटी टेष्टमा २ हजार ३७६ जनाको रिपोर्ट नेगेटिभ आएको बस्नेतले बताए ।

आजबाट वीरगञ्जको छपकैया एरियाको सिलबन्दीसमेत हटाइएको छ । अब वीरगञ्जभित्र खुकुलो गर्ने र सीमा क्षेत्रमा सुरक्षा सतर्कतालाई केन्द्रित गर्ने रणनीतिमा गृह प्रशासन जुटेको बस्नेतले बताए ।

पर्सा जिल्लाको खुला सीमामा आवतजावत ठप्प पार्न ५०० भन्दा बढी सशस्त्र प्रहरी जवान दिनरात खटिएको र केही स्थानबाट लुकिछिपी मानिसहरुको आवतजावत देखिएको हुँदा यसतर्फ अब विशेष निगरानी राखिने बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया