चितवन । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको ‘मान्द्रो नेपाल’ले स्थानीय तरकारीहरुलाई सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएको छ । विगत दुई वर्षदेखि उत्पादन गर्दै आए पनि गत वर्षबाट व्यावसायिकरुपमा विदेश पठाउंँदै आएको हो ।

यहांँको अर्गानिक उत्पादन गुन्द्रक, मस्यौरा, मुला तथा कुपिण्डोको चाना, सिन्की, टिकियालगायत उत्पादनहरु विदेश पठाउंँदै आएको मान्द्रो नेपालले जानकारी दिएको छ ।

अर्गानिकरुपमा उत्पादन गरिएको रायोको साग, कर्कलो, मास, कुपिण्डो, मुलालाई सोलारको माध्यमबाट सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएकी मान्द्रो नेपालकी सञ्चालिका अम्बिका धिताल बताउंँछिन् । ‘पहिले हाम्रो उत्पादन नेपालमै खपत भए पनि गतवर्षबाट विदेश पठाउने गरेको छु ।’ उनले भनिन् ।

उनका अनुसार मान्द्रो नेपालका उत्पादन स्थानीय बजार, काठमाडौँ, पोखरा र अमेरिका, अष्ट्रृेलिया, लण्डनमा पठाइने गरेको छ । हाल मान्द्रो नेपालले करिब ६ कठ्ठा क्षेत्रफलमा यी उत्पादनहरु गर्दै आएको छ । ‘अर्गानिक उत्पादनको माग विस्तारै बढ्दै गएको मैले अनुभव गरें, उनले भनिन्, विदेशमा रहेका नेपालीको माग झनै बढ्दो छ ।’ लगाइएका उत्पादन खेर नजानेर लामो समयसम्म नबिग्रने भएकोले आफूले यो व्यवसाय सुरु गरेको धितालको भनाइ छ ।

मान्द्रो नेपालले प्रतिकेजी एकहजारदेखि १ हजार ५०० रुपैयांँसम्म आफ्नो उत्पादन बाहिर पठाउने गरेको छ । ‘अर्गानिक उत्पादन एक पूर्णरुपमा विषाक्तरहित उत्पादन हो उनले भनिन्, अर्को कुरा यसले नेपालको स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्नसमेत मद्दत गर्दछ ।’ गतवर्षमात्र २ हजार केजी अर्गानिक उत्पादन बिक्री गरिसकेको उनले बताइन् ।

अहिले पनि विदेशबाट अर्गानिक उत्पादनको अर्डर आएको र लकडाउन खुलेपछि पठाउने तयारी गरिएको छ । उत्पादनको मागलाई मध्यनजर गर्दै हाल यसलाई प्रशोधन गर्ने, प्याकिङ्ग गर्ने र भण्डारण गर्दै आएको धितालको भनाइ छ । मान्द्रो नेपालले स्थानीय महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले एक दर्जन महिलालाई रोजगारी दिँदै आएको बताएको छ ।

‘एक त चुलोचौकामा मात्र सीमित महिलालाई आत्मनिर्भर रहन मद्दत गर्छ, सञ्चालिका धितालले भनिन्, ‘यसलाई ससाना खाली जग्गामा समेत प्रयोग गर्न सकिन्छ ।’ विगतका वर्षदेखि नै मान्द्रो नेपालले आफ्ना उत्पादनहरुलाई मेला, महोत्सव, प्रर्दशनीमार्फत प्रर्दशन गर्दै आएको छ ।

आगामी दिनमा अर्गानिक उत्पादनको क्षेत्र विस्तार गर्दै नेपालको मौलिक उत्पादनलाई विश्वभर पुर्‍याउने लक्ष्य लिएको मान्द्रो नेपालले बताएको छ ।

तपाईको प्रतिक्रिया