चितवन । नेपाल प्रेस युनियन चितवनले प्रेस स्वतन्त्रता सुनिश्चित गराउन सबै पक्षसँग आग्रह गरेको छ ।

लोकतन्त्र स्थापनापछि पछि समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनु लाजमर्दो भएको भन्दै पूर्ण प्रेस स्वतन्त्रतामा गम्भिर रहन आग्रह गरेको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै युनियनले लोकतन्त्र स्थायित्वका लागि प्रेस स्वतन्त्र अपरिहार्य रहेको जनाएको छ ।

नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारहरुलाई निर्धक्क भयरहित बातावरणमा समाचार लेख्न वातावरण सृजना गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आमनागरिकमा आव्हान गरेका छन् ।

‘समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ गर्नेजस्ता कार्यले पत्रकारिताको मूल्य मान्यताविपरीत छ’, विज्ञप्तिमा भनिएको छ । आमपत्रकारहरुका लागि समाचार संकलन र सम्प्रेषणका काममा पछिल्लो समयमा भएका अवरोधप्रति युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘सरकारी पक्षबाट पत्रकारमाथि भएका ज्यादति र दमनको भत्र्सना गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहो¥याउन हामी आग्रह गर्न चाहाछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रदेखि स्थानीय तहसम्म राजनीतिक दलहरु नै प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको घटनाक्रमले देखाउँदै आएको छ ।’

कोरोनाको संक्रमणका बाबजुत निरन्तररुपमा आफ्नो कार्यक्षेत्रमा खटिने पत्रकारको योगदानको उच्च कदर गरेको जनाएको छ । कोरोना संक्रमणका कारण विश्व प्रेस स्वतन्त्रता दिखवस मनाउन नपाएको उल्लेख गर्दै ‘भय र पक्षधरतामुक्त पत्रकारिता’लाई आत्मसात् गर्दै यो दिवसलाई आ–आफ्नो कर्म क्षेत्रबाटै मनाउन विज्ञप्तिमा आव्हान गरिएको छ ।

सम्पूर्ण पत्रकारहरुसँग नेपाल प्रेस युनियन चितवन सधैँ साथमा रहेको जनाउँदै लकडाउनको समयमा कुनै समस्या रहेमा पनि सम्पर्क गन आग्रह गरिएको छ । अध्यक्ष ढकालले नेपाल प्रेस युनियन चितवन राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा सदैव प्रेस युनियन लागि रहेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया