चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा घटेको चोरी प्रकरणमा संलग्न दोषीहरुमाथि यथाशीघ्र कारबाही गर्न माग राख्दै कांग्रेस भरतपुर २६ बुथ समितिले पश्चिम चितवनको ज्योतिनगरमा सोमबार बेलुकी राँके जुलससहित प्रदर्शन गरेको छ ।

जुलुसपश्चात् आयोजित कार्यक्रममा कांग्रेस चितवनका पूर्वसभापति पृथ्वीमान गुरुङले भरतपुरमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा अनिमितता हुनु लज्जास्पद विषय भएको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीहरुमाथि अविलम्ब कारबाही गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा कांग्रेस भरतपुर २६ का वडा सभापति पुरुषोत्तम कमल ढकाल, कांग्रेसका महाधिवेशन प्रतिनिधि गीता गुरुङ, नेविसंघ चितवनका सूर्य ढकाललगायतका नेताले कोरोना अस्पतालको चोरी तथा अनियमितता प्रकरणमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरुले शक्तिको आडमा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुनु खेदजनक कुरा भएको भन्दै उनीहरुलाई तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरे ।

कार्यक्रममा कांग्रेसका विभिन्न तह र तप्कामा रहेका नेपाल तरुण दल, महिला संघ, नेविसंघलगायतका भातृसंघका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कोरोना अस्पताल भरतपुर महानगरको अग्रसरतामा चैत ७ गतेदेखि सञ्चालनमा आएको थियो । पछि सो अस्पताल भरतपुर अस्पतालको मातहत सञ्चालन गर्ने निर्णय भएको थियो ।

गत सोमबार कर्मचारीले सामानहरु चोरी गरेको सिसिटिभी फुटेज विभिन्न अनलाइन तथा सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको थियो ।

तर, अस्पताल सञ्चालनका लागि गठित कोरोना नियन्त्रण कार्यदलले भने चोरी तथा अनियमितता प्रकरणको बचावट गरी सामान चोरी नै नभएको र प्रक्रियाअनुरुप सामानहरु व्यवस्थित गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको थियो ।

सो प्रकरणको सुरुवातदेखि नै कांग्रेस चितवन, साझा पार्टी, राप्रपालगायतका दलले सो घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने भनी चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । अख्तियार कार्यालयले सो कारोना अस्पतालको कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया