
चितवन । नेपालमा पछिल्लो समयमा सवारी साधनको ट्रयाकिङ्ग अनिवार्यजस्तै हुँदै गएको छ । यस्तो सेवा विभिन्न कम्पनीहरुले दिइरहेका बेला ईफास्ट ट्रयाक सोलुसन्स प्रालिले ई–फास्ट ट्रयाक ब्राण्डको जिपिएस सवारी साधन ट्रयाकिङ्ग सिस्टममार्फत नेपालमा सेवा दिँदै आएको छ ।
कम्पनीका सिइयो सन्तोष तामाङ्गका अनुसार यो कम्पनीले भेइकल अटोमेसनको काम गर्छ । यसले भेइकल ट्रयाकिङ्ग सिस्टम, फिट म्यानेजमेन्ट, ट्रान्सपोर्ट म्यानेजमेन्ट, इस्कुल र एड्भान्स ड्राइभर एसिस्टेन्ट सिस्टमको सेवा दिने गर्छ । सिइयो तामाङ्गले दिएको जानकारीअनुसार यो २०१६ मा स्थापना भएको कम्पनी हो । यो जिपिएस ट्रयाकिङ्ग सिस्टमले सवारी साधन कहाँ छ, कुन स्पिडमा चलेको छ, कहाँकहाँ रोकिएको छ, दिनमा कति ट्रिप गरेको छ, कुन बेला कुन स्थानमा थियो, अहिले कहाँ छलगायतका विभिन्न सूचना दिन्छ ।
त्यसैगरी यसले गाडीमा कति इन्धन छ, माइलेज कति दिएको छ, आज कति इन्धन हालेको छ वा इन्धन चोरी भएको छ/छैन भन्नेजस्ता सूचना पनि यस सिस्टमबाट लिन सकिन्छ । लाखौँको गाडी किनेर गाडीबाट नाफा लिन नसकेका मालिकहरुका लागि यो अति भरपर्दो रहेको कम्पनीका चितवन शाखाका मार्केटिङ एक्जुकेटिभ दीपक भट्टराई बताउँछन् । चितवनमा धेरै कम्पनीले यो सेवा प्रयोग गरिसकेको र ती कम्पनीले गाडी के कस्तो अवस्थामा छ भन्ने कुरा आफ्नो मोबाइलमार्फत् कन्ट्रोल गर्ने गरिरहेको भट्टराईले बताए । प्रायः मालिकले गाडीको साँचो ड्राइभरलाई सुम्पेका हुन्छन् । गाडी मालिकसँग कन्ट्रोल मेकानिजम हुँदैन, जसले गर्दा गाडीमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुँदैन । तर, ट्रयाकिङ्ग भएको गाडी लगानीकर्ता आफ्नो नियन्त्रणमा हुने हुनाले त्यो गाडीबाट भरपूर प्रतिफल लिन सकिने सिइयो तामाङ्गको भनाइ छ । उनका अनुसार यो सिस्टमले गाडी चालकलाई पनि फाइदा हुने र कुनै स्थानमा गाडी बिग्रिएमा वा दुर्घटना परेमा पनि पत्ता लगाउन सजिलो हुने भएकाले हरेक गाडीमा ट्रयाकिङ्ग अनिवार्य रहेको छ ।
यो सिस्टमबाट आफूले राखेका ड्राइभरहरु कति इमान्दार रहेछन् भन्ने पनि सजिलै पत्ता लगाउन सकिन्छ । यो सिस्टमको प्रयोग गर्न प्रत्येक गाडीमा एउटा डिभाइस जडान गरिन्छ, जसबाट उपभोक्ताको आवश्यकताअनुसारको सबै फिचर जडान गरिएको हुन्छ । कुनै डिभाइसमा जेनेरल सिस्टम हुन्छ भने कुनैमा क्यामरा जडित डिभाइससमेत राखिएको हुन्छ । त्यसैगरी, कुनै डिभाइसले इन्धन सेन्सरको काम गर्छ भने कुनैले गर्दैन । यसमा १० फरक-फरक फिचर भएको डिभाइस कम्पनीले प्रयोग गर्छ । यो सिस्टम मोबाइल कम्युनिकेसन सिस्टमको माध्यमले टुजी र फोरजी तथा फाइबजी नेटवर्कमार्फत हेर्न सकिने सिइयो तामाङ्ग बताउँछन् ।
यस सिस्टमबाट रिपोर्ट हरेक समयमात्र हैन, आज हेर्न नभ्याएको रिपोर्ट पछि जुनसुकै समयमा पनि हेर्न सकिन्छ । कतिपय सवारी साधन कुनै रुटमा चल्छ वा कुनै क्षेत्रमा सीमित हुन्छ, यदि त्यसले त्यो क्षेत्र क्रस गरेको खण्डमा पनि यो सिस्टमले जानकारी गराउँछ । सिइयो तामाङ्ग भन्छन्, ‘यो सिस्टमले गाडीलाई उच्चतम सुरक्षा दिएर लगानीको प्रतिफल सहयोग गर्छ भने सवारी चालकले गाडीको अनधिकृत प्रयोग गरेर नोक्सान पुर्याउन सक्दैन ।’
‘यो सिस्टमका कारण गाडीको स्पिड नियन्त्रण हुने हुँदा गाडी चाँडो पुरानो हुँदैन भने दुर्घटनाबाट पनि गाडी जोगाउन सकिन्छ’, उनी भन्छन्, ‘यो सिस्टमको प्रयोग गरेको गाडीमा ट्राफिकको जरिवाना पनि कम भएको प्रयोगकर्ताको अनुभव छ ।
यो सिस्टमको प्रयोग गरेको गाडी कसैले चोरेर लैजान खोजेको अवस्थामा गाडी रोकिसकेपछि पुनः स्टार्ट गर्न नमिल्ने पनि बनाउन सकिन्छ ।’ अहिले यो सिस्टमको कम्पनीले ५ हजारभन्दा बढी गाडीहरुमा प्रयोग गरिसकेको सिइयो तथा प्रबन्ध निर्देशक तामाङ्गले जानकारी दिए ।