चितवन । रेडियो भरतपुरले लकडाउनकै समयमा आफ्नो समाचारको धुन परिवर्तन गरेको छ । नयाँ समाचारको धुन आज आधुनिक प्रविधिको प्रयोग गर्दै सार्वजनिक गरिएको हो ।

विज्ञापन व्यवसायी एवं एनआइसी एसिया बैंकका संचालक राजेन्द्र अर्यालले ल्याबटपबाट उक्त धुन सार्वजनिक गरेका छन् । विगत एक दशकदेखि संचालित रेडियोको नामसँगै सबै कुरा परिवर्तन गरिएको छ । कलसाइन परिवर्तनसँगै रेडियोले जिल्लामा लोकप्रियता कमाएको छ । सृजनात्मक र रचनात्मक कार्यक्रमको साथमा स्थानीयस्तरमा रेडियो भरतपुर आवाजविहीनहरुको आवाज बन्न सफल भएको रेडियोका अध्यक्ष नवीनराज पौडेलको भनाइ छ ।

पौडेलले समय अनुकूल रेडियोको क्षमता र प्रविधि परिस्कृत गरिएको जानकारी दिए । जनतालाई सुसूचित गर्दै समाचारलाई प्रभावकारी बनाउन नयाँ धुन बनाइएको उनले बताए । धुन सार्वजनिक गर्दै विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले जस्तोसुकै संकटको समयमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने र सञ्चारमाध्यमले सरकारमाथि निगरानी गर्ने गरेको बताए ।

उनले सबैखाले बेथिति र अन्यायविरुद्ध बोल्ने काम रेडियोले गरेको र यसको प्रभाव गाउँगाउँमा रहेको दाबी गरे । रेडियोले समाचार, गीतसंगीतसँगै मनोरञ्जन र ब्रान्डिङको काम गर्नुपर्नेमा उनको जोड थियो । अर्याल सञ्चालक रहेको एनआइसी एसिया बैंकले ब्रान्डको भ्यालु र पोजिसन ब्रेक गरेकोले चौतर्फी प्रशंसा भएको छ ।

स्मरण रहोस्, अर्यालले संचालन गरेको त्रिकोण एड नेपालमा ठूला ठूला ब्रान्ड जस्तैः आयो नुन, गोरखकाली टायर, भाटभटेनी, आरएमसी, फेमिली तेलसहित थुप्रै बैंक तथा वित्तीय संस्था र कर्पोरेट कम्पनीको विज्ञापन बनाएर स्थापित भएको छ ।

तपाईको प्रतिक्रिया