चितवन । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा दैनिक ज्यालादारी मजदुरी गरेर जीवनयापन गर्दै आएका परिवार समस्यामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदाय पनि यतिबेला  समस्यामा परेका छन् ।
पाखोबारीमा उब्जाएको कोदो, मकैले ६ महिना पनि खान नपुग्ने ती समुदायले बाँकी छ महिना भने अन्यत्र गएर दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने गर्छन् । तर, अहिले ज्याला मजदुरी गर्न नपाएपछि उनीहरुलाई बिहान बेलुका छाक टार्न मुस्किल परेको छ ।
गाउँपालिकाले एक महिनाअघि १० केजी चामल वितरण गरेका थिए । तर, १० केजी चामल सकिसकेकाले अब घरमा चुल्हो बल्न नसक्ने अवस्था आएको दैनिक ज्याला मजदुरी गरी चारजनाको परिवार पाल्दै आएको इच्छाकामना–३ धुषाका गमबहादुर चेपाङले बताए । अहिले काम गर्न नै नपाएपछि बिहान बेलुका छाक टार्न मुस्किल भएको उनको भनाइ छ ।
उनले भने, “बारीको उब्जनीले ६ महिना पनि खान मुस्किल हुन्छ बाँकी ६ महिना बाहिर जिल्लामा गएर ज्याला मजदुरी गरेर परिवार पाल्ने हो तर अहिले अनिकालकै समयमा ज्याला मजदुरी ठप्प हुँदा घरमा चुल्हो बल्न गाह्रो भएको छ गाउँपालिकाले दिएको १० केजी चामल पनि सकियो ।”
अर्का स्थानीय सिद्धान्त चेपाङका अनुसार यहाँका ती समुदायका केहीले तरकारी खेती पनि गर्छन् तर फलाएको तरकारीसमेत बजारमा बिक्री गर्न पाएनन् । बेच्ने बेला भएको काँक्रो बोटमै कुहिएर खेर गएको उनको भनाइ छ ।
उनले अब सरकारले आफूहरुलाई काम (रोजगार) दिनुपर्ने बताए । दैनिक काम गर्न पाएमात्र परिवार पाल्न सकिने यहाँका ती समुदायको भनाइ छ ।
जग्गा जमिनको कमी भएका कारण पनि कृषिमा आत्मर निर्भरसमेत बन्न नसकेको पनि उनीहरु बताउँछन् । धुषमा मात्र ५३ घर ती समुदायका परिवार छन् । अधिकांशले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका छन् ।
गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले भने चेपाङ समुदायमात्र नभएर दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका सम्पूर्ण परिवारका सदस्यलाई गाउँपालिकाले विकास निर्माणका काममा लगाउने जानकारी दिइन् । अब गाउँपालिकाले विकास निर्माणका काम पनि सञ्चालन गर्ने र गाउँपालिकाभित्रका विपन्न दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका विपन्नलाई रोजगार दिइने उनले बताइन् ।
उनले भनिन्, “अब विकास निर्माणका कामलाई विस्तारै कोरोनासँग जोगिँदै आवश्यक सतर्कता अपनाई सञ्चालन गर्दैछौँ, सडक खाने पानी र बिजुलीलगायतका कामलाई निरन्तरता दिनेछौँ विकास निर्माणसँगै रोजगार सिर्जना हुनेछ जसले गर्दा राहत वितरण गर्नुपर्ने सङ्ख्या पनि घट्ने छ ।”
तत्काल चुल्हो बल्ने अवस्था नआए वडा कार्यालय अर्थात् गाउँपालिकामा सम्पर्क गर्न पनि उनले अनुरोध गरिन् । त्यस्तो अवस्थामा आएमा तत्काल राहत उपलब्ध गराउने बताए । रासस

तपाईको प्रतिक्रिया