चितवन । लकडाउनमा सबै घरमा ‘लक’ हुनुभएको छ । यो सँगै आफ्ना सवारी पनि घरमै थन्किएका छन् । तर थन्किएका सवारीलाई समय समयमा सञ्चालन (स्टार्ट) नगर्दा सवारीको इन्जिन पनि लक हुने सम्भावना हुन्छ । विज्ञहरुले कम्तीमा हप्तामा एकपटक १० देखि १५ मिनेट सवारीलाई स्टार्ट गरेर राख्न सुझाव दिएका छन् ।

देशभरका तराई, भित्री मधेश र पहाडी बजार क्षेत्रमा अधिकांश घरमा दुई वा चार पाङ्ग्रे सवारीसाधन छन् । यसका अतिरिक्त उद्योग, कलकारखाना, प्रतिष्ठान, निर्माण कम्पनीमा यतिबेला सवारीसाधन थन्किएर बसेका छन् । अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा आएका छैनन् । ती सवारीको ख्याल नगर्दा ठूलो नोक्सान हुने विज्ञहरु बताउँछन् ।

सडक विभागका मेकानिकल इन्जिनियर जीतेन्द्र सिंह हप्तामा एकपटक १० देखि १५ मिनेट सवारीसाधन स्टाट गर्नुपर्ने बताउँछन् । उनले भने, ‘समय समयमा स्टाट गर्दा ब्याट्री डिस्चार्ज हुँदैन, मोबिलको गुण हराएर जाँदैन, इन्धन पम्प, एयर फिल्टर, इन्धन फिल्टरमा खराबी आउँदैन ।’

लामो समय स्टार्ट नगरी राख्दा ब्याट्रीसहित इन्जिनमा क्षति हुने उनको भनाइ छ । उनले भने, ‘लामो समय सवारीसाधन थन्किँदा इन्जिनको भल्वमा कार्बन जम्ने, सवारी स्टार्ट गर्न गाह्रो हुने, स्टाट भए पनि लाइनरमा दाग बसेर क्षमता कमजोर हुन्छ । यसले इन्जिन प्रभावित बनाएर पुनः मर्मत गर्नुपर्ने र ब्याट्री काम नलाग्ने अवस्थामा पु¥याउने उनले बताए ।

घरमा लकडाउनमा बसिरहँदा आफ्नो सवारीको ख्याल गर्न सुझाव दिँदै उनले समय समयमा स्टाट गर्न र सरसफाइमा ध्यान दिन पनि आग्रह गरे । रासस

तपाईको प्रतिक्रिया