चितवन । भरतपुर अस्पतालमा शुक्रबार उपचारका लागि आएका बिरामीहरुले मेडिसिन वार्डमा डाक्टरलाई नभेटेपछि निराश भए । ड्युटी समयमा डाक्टर नै नभेटिएपछि बिरामी र बिरामीका आफन्तहरुले निकैबेर डाक्टरको खोजी गरे । टिकट काटिसकेर मेडिसिन वार्डको कोठा नं ४ मा पुगेका बिरामीले डाक्टर नै नआएपछि त्यत्तिकै फर्किनुपरेको गुनासो गरे ।

अस्पतालले कोरोनाको जोखिमका कारण टिकट काट्ने समय साढे ९ बजेदेखि ११ बजेसम्मलाई तोकेको छ । १० बजेदेखि १२ बजेसम्मको समयमा सेवा दिने भनेर अस्पतालका भित्ताहरुमा सूचना टाँसिएको छ । तर, बिरामीहरु साढे ११ बजे मेडिसिन वार्डको ४ नम्बर कोठामा पुग्दा पनि डाक्टरहरु भेटिएनन् ।

विभिन्न परीक्षणको रिपोर्ट देखाउन आएका बिरामीले पनि डाक्टरलाई भेट्न पाएनन् । ‘अस्पताल रहर त कोही आउँदैन नि, यहाँ त ड्युटी समयमा नै डाक्टरहरु अस्पताल बस्दैनन् । कि त अस्पताल खोल्नै भएन, होइन भने ड्युटी समयसम्म अस्पतालमै बस्नुपर्छ’, उपचारका लागि गएकी भरतपुरकी एक सेवाग्राहीले नाम नबताउने शर्तमा भनिन् ।

उनीसँगै केही बिरामीहरु डाक्टरहरुलाई खोजिरहेका थिए । आज शनिबार भएकाले पनि शुक्रबार नै डाक्टरलाई भेट्ने उनीहरुको चाहना थियो । त्यसो त, डाक्टरले सिफारिस गरेका परीक्षणसमेत अस्पतालमा नभएर बाहिर पठाउने गरेको बिरामीहरुले बताएका छन् । बिहान ११ बजेभित्र टिकट काटिसकेका बिरामीहरुले उपचार पाउनुपर्ने भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले बताए ।

शुक्रबार जम्मा ३६० जना बिरामी अस्पताल आएको उनले बताए । लकडाउनपछि अस्पताल आउने सेवाग्राहीको संख्या ह्वात्तै घटेको छ । ‘अस्पताल आउने सेवाग्राहीको संख्या त खासै होइन, ११ बजे टिकट काटेका सेवाग्राहीलाई सेवा दिने भनेरै सोचेको हो’, उनले भने ।

मेडिसिन विभागका प्रमुख प्रकाश खतिवडाले भने सबै वार्डहरुमा डाक्टरको राउन्ड भएकाले राउन्ड नभए खबर आइहाल्ने बताए । कुनै पनि डाक्टरहरुले राउन्ड नछाडेको उनले दाबी गरे । ‘तलमाथि सबैतिर राउन्ड भइहाल्छ, राउन्ड नभए त खबर आइहाल्छ नि’, उनले भने, ‘अलिकति ढिलो हुन सक्छ, त्यसरी त कहाँ छाड्छन् र !’

तपाईको प्रतिक्रिया