चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा रहेका भारतीयको विवरण संकलन गरेर घर पठाउने भएको छ ।

भारतीय राजदूतावासले नै चितवनमा रहेका भारतीय नागरिकको विवरण संकलन गरेर पठाइदिन आग्रह गरेपछि आज दिउँसो ३ बजेसम्ममा भारत फर्कन चाहने भारतीय नागरिकहरुलाई सम्पर्कमा आउन सूचना जारी गरेर आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भारत घर भई रोजगारका लागि चितवन आएर बसेका र लकडाउनका कारण समस्यामा परेपछि स्वदेश फर्कन चाहनेहरुलाई मात्रै सम्पर्कमा आउन आग्रह गरिएको हो ।

‘भारतीय राजदूतावासले आफ्ना नागरिकको विवरण संकलन गरेर पठाउन भनेपछि हामीले विवरण संकलन गरेर पठाउन खोजेका हौँ’, प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘आइतबार दिउँसो ३ बजेसम्ममा आफ्नो देशको परिचय खुल्ने गरी सम्पर्कमा आएका भारतीय नागरिकको विवरण संकलन गरेर दूतावासमा पठाउँछौँ । त्यसपछि आफ्ना नागरिकलाई लैजाने व्यवस्था दूतावासले नै गर्छ ।’ त्यसरी घर फर्कन चाहने भारतीय नागरिक २५ देखि ३० जनासम्म हुन सक्ने प्रशासनले अड्कल गरेको छ ।

‘लकडाउनको सुरूवातमा माडीको बाटो भएर भारत जान खोजेका ११ जनालाई माडीमै रोकेर क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइन अवधि पूरा भएपछि स्थानीयस्तरमै काम गरिरहेका छन् भन्ने सुनेको छु’, प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘रत्ननगरमा पनि ११ जना घर जान खोजेका छन् भन्ने सुनेको छु, सोही आधारमा बढीमा २५ देखि ३० जनासम्म होलान् भन्ने अड्कल गरेका छौँ ।’

तर, हालसम्म हामीलाई घर पठाइदेऊ भनेर प्रशासनमा भनसुन गर्न कोही पनि नआएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

सम्पर्कमा आउने व्यक्तिलाई आफ्नो देशको परिचयपत्रको नम्बरसहित मोबाइल नम्बर, भारतको ठेगाना र हाल चितवनमा बसेको ठेगाना र नेपालको कुन नाकाबाट जानुपर्ने हो ती सबै विवरण खुलाएर आइतबार दिनको ३ बजेसम्म प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको हो । त्यस्ता व्यक्तिले जिल्ला प्रशासन कार्यालय चितवनको इमेल [email protected] वा मोबाइल नम्बर ९८५५०१७७७७, ९८५११५९५१४, ९८४१०४३६३४ र ९८४५३३१०३६ मा सन्देश पठाउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया