चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु चितवनले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिलासहित १९३ जनाले रक्तदान गरेका छन् ।

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण देशभर रगतको चरम अभाव देखिएकाले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले अभियानस्वरुप रक्तदान कार्यक्रम गर्दै आएको छ ।

प्रदेशसभा सदस्य घनश्याम दाहाल (अविनाश) ले रक्तदानका लागि चाहिने सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रदेश कमिटी सदस्य रामध्वज डल्लाकोटी, नेकपाका जिल्ला नेता तेजेन्द्रबहादुर खड्का, रामचन्द्र अधिकारी, जिल्ला सचिवालय सदस्य एवम् कालिका नगरपालिकाको मेयर खुमनारायण श्रेष्ठ, जिल्ला सचिवालय सदस्य जयचन्द्रप्रसाद चौधरी लगायतका नेताहरुको उपस्थिति थियो ।

वैशाख ११ गतेदेखि चितवनको रामनगरदेखि सुरु भएको यो अभियानअन्तर्गत भरतपुर महानगरपालिकाका विभिन्न वडा हुँदै कालिका नगरपालिकामा पुगेर रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक मधु न्यौपानेले जानकारी दिए ।

यसअघि रामनगर र भरतपुरका विभिन्न वडामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३५ पोका रगत संकलन भइसकेको छ । सातवटा केन्द्रवाट रगत संकलन गर्ने लक्ष्य छ । लक डाउनका बीच पनि कालिका नगरपालिकाका विभिन्न वडावाट युवाहरु स्वतःस्फूर्तरुपमा रक्तदान गर्न पदमपुर पुगेका थिए ।

पदमपुरको लामाचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गरी १९३ जनाले रक्तदान गरेको स्थानीय युवा शेषकान्त रिजालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया