काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सीधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताएका छन् ।

विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको वर्तमान परिप्रेक्ष्यमा समस्याहरु थप जटिल बन्दै गएको अध्यक्ष दाहालको निष्कर्ष छ ।

सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यसमेत रहेका अध्यक्ष दाहालले सीमा विवाद तत्काल उब्जिएको नभई दसकौँदेखिको समस्या हो भन्दै सबै तथ्यहरुको विष्लेषण गरी एउटा ठोस निचोडमा जानुपर्ने आवश्यकता औँल्याए ।

बैठकमा सांसदहरुले सीमारक्षाका विषयमा राष्ट्रिय सहमति जुटिरहेका बेला सरकारले गरेको पहलकदमीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेपछि सत्तारुढ दलको नेतृत्व गरेको पार्टी नेकपाका एक जना अध्यक्षको हैसियतमा बौल्दै अध्यक्ष दाहालले भने, “सीमा समस्याका विषयमा एकचोटी फेरि राजनीति र कूटनीतिमार्फत समाधानको कोसिस गर्ने र भएन भने सीधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आउँदै गरेको महसुस गरेको छु ।”

सांसदहरुले उठाएको मुलभूत विषयमा सहमति जनाउँदै अध्यक्ष दाहालले भने, “विषय धेरै गम्भीर र पुरानो हो ।” गत साल भारतले जारी गरेको राजनीतिक नक्साको नयाँ सन्दर्भ आएपछि विषयको गाम्भीर्यता र संवेदनशीलतालाई विचार गरेर पटक–पटक राष्ट्रियस्तरमा गम्भीर बहस गरिएको उनले बताए ।

त्यो बेला सरकारले पनि सर्वदलीय र सर्वपक्षीय बैठकको आयोजना गरी राष्ट्रिय सहमति बनाउने वातावरण तयार पारेको स्मरण गर्दै अध्यक्ष दाहालले त्यो बैठक र सहमतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकै ठूलो तागत प्रदान गरेको उल्लेख गरे ।

“सरकारले त्यो बेला तयार पारेर भारत सरकारसमक्ष पेश गरेको ‘लेटर अफ प्रोटेष्ट’ सायद कूटनीतिककरूपमा सायदै लेखिएको होला भन्ने लाग्छ, सरकार तत्परता र विश्वासका साथ नै अघि बढेको छ”, सरकारको पहलकदमीबारे सांसदहरुलाई आश्वस्त पार्दै अध्यक्ष दाहालले थपे, “विदेश सचिवस्तरको बैठकको आयोजना गरेर छलफल गर्ने भन्ने सन्दर्भमा सूची मिलाउन नसक्दा सहमति हुन नसकेको जानकारी आएको छ ।”

उनले भने, “शनिबारमात्रै भारतले बनाएको बाटो उद्घाटनको विषय आइसकेपछि प्रधानमन्त्रीलाई भेटेर विषय धेरै गम्भीर भएर आयो ।

विगतमा नक्साको सन्दर्भमा पनि एक ढङ्गको विवाद भयो । हामीले उच्चस्तरमा (प्रधानमन्त्रीकै स्तरबाट) राजनीतिक र कूटनीतिक संवाद थालिहाल्नुपर्छ ।” अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँगको भेटमा अझ विषयवस्तु गम्भीर भएर आएकाले अविलम्ब पहल भएन भने चिजहरु झन् अप्ठ्यारो भएर जान सक्नेतर्फ ध्यानाकर्षण गराएको बताए ।

तपाईको प्रतिक्रिया