चितवन । जिल्लाको विकट गाउँ कान्दाका बासिन्दालाई लायन्स क्लब अफ चितवन राईजले राहत हस्तान्तरण गरेको छ । राप्ती नगरपालिका वडा नं १३ का अध्यक्ष सूर्यबहादुर चेपाङलाई क्लबले रु ४० हजार पर्ने तीन क्विन्टल चाउचाउ आज हस्तान्तरण गरेको हो । सो गाउँमा विस २०६७ मा विषालु च्याउ खाँदा एकै परिवारका आठ जनाको निधन भएको थियो ।

क्लबका अध्यक्ष नारायण अधिकारी, प्रथम उपाध्यक्ष अर्जुन अर्याल, कोषाध्यक्ष तिलक रिमाल, निर्देशक राधेश्याम खतिवडा र स्मार्ट फुड एण्ड स्न्याक्स प्रालिका महाप्रबन्धक विकास अमात्यले उद्योग परिसर रत्ननगर, पिठुवामा आयोजित संक्षिप्त कार्यक्रममा सामग्री हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष चेपाङले ७० परिवारलाई प्राप्त चाउचाउ वितरण गरिने जानकारी दिए । चाउचाउसँगै सो क्षेत्रको विकासमा लागिरहेको मितेरी फाउण्डेशन नेपालले सो क्षेत्रमा वितरण गर्न खाद्यान्न सामग्री लगेको संस्थाका अध्यक्ष रवीन्द्र बानियाँले जानकारी दिए ।

उनका अनुसार फाउण्डेशनका सदस्यले आर्थिक सङ्कलन गरी ७० बोरा चामल, १४० पोका नून, ७० पोका तेल, १४० वटा साबुन र ७० किलो केराउ पठाएको छ ।

ती सामग्री त्यहाँका सबै परिवारलाई वितरण गरिँदैछ । आर्थिकरुपमा विपन्न चेपाङ समुदायको बस्ती रहेको सो क्षेत्र नगरपालिकामा पर्ने भए पनि निकै विकट क्षेत्रमा पर्दछ ।

त्यहाँका बासिन्दालाई आफ्नो बारीको उब्जनीले वर्षभरिलाई खान पुग्दैन । कोरोनाका कारण भएको लकडाउनका कारण शहरी क्षेत्रमा काम पनि नपाउने भएपछि उनीहरुलाई खानाको समस्या परेको छ ।

तपाईको प्रतिक्रिया