
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मंगलबार राति पुनः २६ जनामा देखिएको छ । मंगलबार अपरान्हमात्रै पर्साका ३९, रुपन्देहीका नौ, कपिलवस्तुका आठ र बाराका एक जना गरी ५७ जनामा कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा मंगलबार पुनः काठमाडौँ उपत्यकासहितमा संक्रमण देखिएको पुष्टि गरेका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ जना पुगेको छ ।
मंगलबार दुईपटकको अद्यावधिक विवरणअनुसार ८३ संक्रमित भेटिएका छन् । यो एक दिनमा नेपालमा भेटिएको सबैभन्दा ठूलो संख्या हो । नयाँ संक्रमितमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१, ६१ वर्षीय पुरुष छन् ।
यसैगरी महोत्तरी जिल्लाका १६ र ३५ वर्षीय पुरुष तथा धनुषा जिल्लाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष छन् । नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जना रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।
उनका अनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्लाकी ३५ वर्षीया महिला छिन् । यसैगरी सर्लाहीका ४५ वर्षीय पुरुषमा समेत संक्रमण रहेको जनाइएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार ती संक्रमितको अवस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।