चितवन । उद्योग वाणिज्य संघका चितवन पूर्वउपाध्यक्ष एवं घर बहाल सरोकार महासंघका उपाध्यक्ष विष्णुप्रसाद कँडेलले सरकारसंँग तत्काल उद्योगी व्यवसायीहरुको लगानी सुरक्षाको माग गरेका छन् ।

कोरोना भाइरसका कारण देश लकडाउन (बन्दाबन्दी) मा गएको ५० दिन बितिसक्दासमेत सरकारले आफूहरुको समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सहज वातावरण सिर्जना गर्न उनले माग गरेका हुन् ।

दिन प्रतिदिन सम्पूर्ण व्यवसायीको लगानी डुब्ने खतरा बढेकोले यसलाई तत्काल निकास दिनुपर्ने उनले बताए । लकडाउनका कारण सबै व्यवसायीहरु ऋणको चपेटामा परेको र बैंकको ब्याजज र किस्ता बुझाउन नसकेको र सम्पूर्ण व्यवसायीहरुको व्यवसाय नै धरापमा परेका कारण सरकारले तत्काल बैंक ब्याज मिनाहको साथै घरभाडा छूट हुनुपर्ने उनको जोड छ ।

‘हाम्रा व्यवसायी साथीहरु ५० दिनदेखि त्रसित छन् सरकारले बैंकको ब्याज, किस्तालगायतका विषयमा केही सम्बोधन गर्नै सकेको छैन’ कँडेलले भने । यस्तो अवस्थामा अझ लकडाउन लम्बिए व्यवसायी नै धराशायी हुने र सदाको लागि बन्द गरिनुपर्ने उनको भनाइ छ ।

‘व्यवसायी साथीहरुले आफ्नो व्यवसाय सधैँका लागि बन्द गर्नुपर्ने अवस्था देखिसकेको छ तर राज्य मौन देखिन्छ यो कार्यले व्यवसायीहरु पीडामा परेका कारण सरकारले तत्काल केही गरोस्’, उनको माग छ ।

हरेक समस्यामा राज्यलाई सहयोग गर्दै आइरहेका व्यवसायीहरु आफू समस्यामा पर्दा सरकार निरीह बनेको भन्दै तत्काल व्यवसायीको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया