चितवन । चितवनका सुनचांँदी व्यवसायीहरुले चैत २९ गतेदेखि बिहीबार ३४ औं दिनसम्म पनि विपन्न, बेसहारालाई खाना खुवाउने अभियानलाई निरन्तरता दिएका छन् । आफ्नै व्यवसाय धराप र मारमा परिरहेका बेला मानवीय धर्म पूरा गर्ने उद्देश्यले उनीहरुले खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन् ।

उद्योग वाणिज्य संघ चितवनको परिसरमा व्यवसायीहरुले त्यस्ता व्यक्तिहरुलाई दैनिक एकछाक खाना खुवाउंँदै आएका छन् । लकडाउनको समयमा एकछाक खाना खानसमेत नपाएर भौंतारिएका, विपन्न, बेसहारा, मजदूर सडक बालबालिकाहरुलाई खाना खुवाउंँदै आएको सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपीन रामुदामुले बताए ।

“लकडाउनको समयमा हरेक मजदुर, बेसहाराको रोजीरोटी खोसिएको छ, उनीहरुको पीडामा मलम लगाउने उद्देश्यले हामी यो अभियान सुरु गरेका हौँ ।’ केन्द्रीय उपाध्यक्ष रामुदामुले भने ।

उनका अनुसार दैनिक २५० जनासम्मलाई खाना खुवाइँदै आएको छ । व्यवसायीहरु आफैँ पीडामा रहेर पनि यस अभियानलाई निरन्तरता दिन पाउंँदा आफूहरुलाई आनन्द मिलेको उनले बताए ।

‘खान पुगोस्, दिन पुगोस्, अभियानका संयोजकसमेत रहेका रामुदामुले भने, ‘मानवसेवा जस्तो धर्म अरु छैन ।’ हालसम्म ५ हजार ७४५ सेट खाना खुवाइसकिएको छ भने लकडाउन अवधिभर यो कार्यलाई निरन्तरता दिइने संयोजक रामुदामुको भनाइ छ ।

नेपाल सुनचांँदी व्यवसायी संघ चितवन, सुनचांँदी बचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा अभियान सुरु गरिएको हो । यो अभियान लकडाउनको अवस्था, समयअनुसार परिमार्जित हुने बताइएको छ ।

राज्यले समेत त्यस्ता व्यक्तिहरुलाई बेवास्ता गरिरहेको बेला व्यवसायीहरुले व्यावसायिक धर्म निर्वाह गर्ने उद्देश्यले खाना खुवाउने अभियान गरिएको सुनचांँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष एवं चितवन चेम्बर अफ कमर्सका सदस्य युवा उद्यमी रुवीन रामुदामुले बताए ।

‘यतिबेला राज्यसमेत ती वर्गप्रति बेखबर छ, महामारीको बेला सहयोग गर्नु हाम्रो दायित्व पनि हो । यसले समाजमा सकारात्मक सन्देश पनि जाओस्’, युवा उद्यमी रामुदामुले भने ।

चितवनमा हालसम्म लगातार ३४ दिनसम्म खाना खुवाउने अभियानलाई सुनचांँदी सम्बद्ध व्यवसायीहरुले निरन्तरता दिँदै आएका हुन् । हाल सहरकेन्द्रित रहेर नारायणगढमा खाना खुवाइने गरे पनि दैनिक त्यस्ता व्यक्तिहरुको संख्या बढ्दै गइरहेको संघका कोषाध्यक्ष निलेमान शाक्यले बताए ।

‘पहिलो दिनमा सय जनाको हाराहारीमा मात्र थिए’, कोषाध्यक्ष शाक्यले भने, ‘अहिले दैनिक २५० जनासम्मले खाना खाएका छन् ।’ उनका अनुसार दैनिक व्यवसायीहरु खटिएर कोरोना सुरक्षा मापदण्ड अपनाई खाना खुवाइएको छ । यो अभियान जेठ ५ गतेको लकडाउनसम्म हुँदैछ ।

तपाईको प्रतिक्रिया