काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा शुक्रबार १८ जना थपिएसँगै कुल संक्रमितको संख्या २६७ पुगेको छ ।
आज बिहान बाँके र मकवानपुरमा ९ जनामा कोरोना संक्रमण देखिएकोमा बेलुकी पुनः ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणका क्रममा थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन् ।
नयाँ कोरोना पुष्टि हुनेमा पर्सा जिल्लाको वीरगञ्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा ४, ५ र तुल्सीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष, काठमाडौँ सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय एक पुरुष र बाँके नैनापुर वडा नं १, ३ र ५ नम्बर वडाका १८ वर्षदेखि ३६ वर्षसम्मका आठ पुरुषसहित नौ जना संक्रमित भएका थिए ।
थपिएका संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य रहेको र निजहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३६ जना निको भई घर फर्किएका छन् ।