चितवन । लकडाउनको मौका छोपी कालोबजारी गरेको अभियोगमा भरतपुर हाइटको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले रू एक हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको छ । उपभोक्ताको गुनासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार तरकारीमा बजारको प्रचलित मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई कारबाही गरिएको हो । भाटभटेनीका तर्फबाट भरतपुरका व्यवस्थापक जमुना गुरूङलाई सो सजाय सुनाइएको थियो । निज गुरूङले कैदबराबरको जरिवाना रकम तिरेर छुटेको उनले जानकारी दिए ।

यसैगरी रत्ननगरमा रहेको पौडेल पुस्तक महलका सञ्चालक हरिनारायण उपाध्यायलाई बढी मूल्यमा पुस्तक बेचेपछि एक महिना कैद र रू एक हजार जरिवाना गरिएको छ । निजले पनि कैदवापतको जरिवाना तिरी रिहा भएको प्रशासनले जनाएको छ ।

यस्तै महङ्गो मूल्यमा फलफूल बिक्री गर्ने चार व्यवसायीलाई कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा काठमाडौँ फ्रुड्स र आचार्य फ्रुड्स नारायणगढलाई रू २५/२५ हजार र हिमालय फ्रुड्स तथा सुभम फ्रुड्सलाई रू १०÷१० हजार धरौटी तोकिएको उनले जानकारी दिए ।

बजार अनुगमनका क्रममा उनीहरुले उपभोक्तालाई बजार मूल्यभन्दा महङ्गो मूल्यमा बिक्री गरेको पाइएपछि धरौटी तोकी तारेखमा छाडिएको सिम्खडाले बताए । उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(५) बमोजिम कारबाही गरिएको उनले जानकारी दिए । लकडाउनको मौका छोपी महङ्गोमा सामान बिक्री गर्नेलाई स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया