चितवन । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ । जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ । अत्यावश्यक सवारीसाधनमात्र चलेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार नारायणी पुलबाट एक प्रदेशसभा सदस्यलाई समेत फिर्ता गरिएको छ । सवारी अनुमतिपत्र नलिइ आएका उनलाई सम्झाएर पठाइएको हो । उनले भने, “अत्यावश्यकबाहेक कसैलाई पनि जिल्ला छिर्न दिइएको छैन ।”

यसै जिल्ला हुँदै राजधानी प्रवेश र बाहिरिनेको सङ्ख्या बढी हुने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार भीडभाड नगरी बैंक सञ्चालन गर्न दिइएको छ । भीड भएका बैंक तत्काल बन्द गर्न लगाइएको छ । दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकारका सवारीसाधन चलेका छन् । औषधि, दूूध, तरकारी र खाद्यान्न ढुवानीका सवारीसाधनलाई मात्र चल्न दिइएको उनले जानकारी दिए ।

यससँगै स्थानीय प्रशासनले अनुगमनमा तीव्रता दिएको छ । अटेर गर्नेलाई कारबाही गरिएको छ । सवारी जाँच बढाएसँगै आवतजावत पनि घटेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका नायब प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार बिहीबारबिना अनुमति हिँडडुल गर्ने ३८ सवारीसाधान र १५ जनालाई नियन्त्रणमा लिइएको थियो ।

व्यक्तिहरुलाई छाडिएको छ भने सवारीसाधान प्रहरीले राखेको छ । लकडाउन सुरू भएयता जिल्लामा एक हजार १८८ सवारीसाधान नियन्त्रणमा लिइ कारबाही गरिएको छ ।

तपाईको प्रतिक्रिया