काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएर २१३ मुलुक र आसपासका क्षेत्रमा प्रभाव पारेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ९६ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले तयार पारेको अनुमानित विवरणअनुसार विश्वभर ९६ जना नेपालीले ज्यान गुमाएका हुन् ।

समितिका संयोजक डा राजीव सापकोटाले दिएको जानकारीअनुसार विश्वभर ६ हजार ७८१ जना गैरआवासीय नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये करिब ३५ प्रतिशत निको भएका छन् । जसमा सबैभन्दा प्रभावित बेलायतका छन् । बेलायतमा हालसम्म ६३ जना नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसैगरी, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरुको संख्या १५ पुगेको एनआरएनएले पुष्टि गरेको छ ।

यसैगरी, युएईमा नौ, साउदी अरेबियामा दुई, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, बहराइन, स्वीडेन र नेपालमा एक एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । मृत्यु हुनेहरुमा १९ महिला तथा ७७ जना पुरुष रहेको डा सापकोटाले जानकारी दिए । कोरोना भाइरसका कारण विगत एक सातामा मात्रै १८ जनाले ज्यान गुमाएको एनआरएनले अद्यावधिक गरेको विवरणमा जनाइएको छ ।

कोरोना महामारीसँगै संसारभरका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरुको समूहले गैरआवासीय नेपालीको विवरण संकलन गरी संक्रमित तथा मृत्यु हुनेको संख्या अद्यावधिक गर्दै आएको छ । स्वास्थ्य समितिले तयार पारेको तथ्यांकअनुसार ११ देशमा गैरआवासीय नेपालीहरुले ज्यान गुमाएका छन् भने अन्य १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार कतारमा दुई हजार ५०० नेपाली संक्रमित छन् । यस्तै, अमेरिकामा एक हजार ६००, बेलायतमा एक हजार २२१, बहराइनमा ३११, युएईमा २००, कुवेतमा ८४ र नेपालमा २९१ जना कोरोना संक्रमित छन् ।

यस्तै, साउदी अरेबियामा ६७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १३, अस्ट्रेलिया अस्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा छ, स्वीटजरल्याण्ड्समा पाँच, जर्मनीमा चार, फिनल्याण्डमा चार, साइप्रसमा तीन, न्युजील्याण्डमा तीन, माल्टामा दुई, हङ्गकङ्गमा दुई, पोल्याण्डमा दुई, म्यानमारमा एक र फ्रान्समा एक जना गैरआवासीय नेपाली कोरोना संक्रमित छन् ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड १९ उच्चस्तरीय समिति तथा विभिन्न उपसमिति गठन गरी कोरोनाबाट प्रभावित देशमा रहेका गैरआवासीय नेपालीका लागि संघले राहत वितरण कार्यक्रम, स्वास्थ्य परामर्श सेवा एवम् आर्थिक सहयोग अभियान जारी राखिएको एनआरएनएका महासचिव डा हेमराज शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया