काठमाडौँ । कपिलवस्तुमा मंगलबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
क्वारेन्टाइनमा बसेकाहरुमा आरडिटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिए । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये चार जनामा पोजेटिभ देखिएको हो ।
नेपालमा यससँगै संक्रमितको संख्या ३७९ पुगेको छ । जसमा दुई जनाले ज्यान गुमाएका छन् भने ३६ जना डिस्चार्ज भएका छन् ।














