– नारायण अधिकारी
चितवन । कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन क्वारेन्टाइन स्थलमै गरिने भएको छ । अस्पतालमा रहेका कोरोना आशङ्का गरिएका बिरामीको सम्बन्धित अस्पतालले स्वाब सङ्कलन गरी पठाउनेछन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर कोरोना विशेष अस्पतालमा कोरोना पोजेटिभ देखिएर सामान्य अवस्था रहेका बिरामीलाई राखिने छ । हाल सो अस्पतालमा स्वाब सङ्कलन, पोजेटिभ देखिएका बिरामी राख्ने र आइसोलेसन एवं क्वारेन्टाइनको कामसमेत गरिँदै आएको छ ।
उनका अनुसार स्थानीय तहहरुले क्वारेन्टिन निर्माणकार्य तीव्रगतिमा अघि बढाएका छन् । ती स्थानीय तहको स्वास्थ्य शाखामा ‘केस’ अनुसन्धान तथा खोजपडताल समूह गठन गर्ने काम भइरहेको छ । कम्तीमा जनस्वास्थ्य स्नातक वा सोभन्दा माथि अध्ययन गरेका स्वास्थ्यका कर्मचारीको नेतृत्वमा तीन सदस्यीय समूह गठन गरिनेछ ।
एक/दुई दिनमा महानगरपालिकामा पाँच, नगरपालिकामा दुई र गाउँपालिकामा एउटा समूह गठन गरिने छ । यससँगै सोही समूहले क्वारेन्टिनबाट स्वाब सङ्कलन र आरडिटी पनि गर्ने उनले जानकारी दिए । पोजेटिभ देखिए बिरामीको सम्पर्कमा भएका व्यक्तिको खोजीदेखि विभिन्न अनुसन्धानका काम सोही समूहले गर्नेछ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाका अस्पतालमा आएकाको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टले संयोजन गरी स्वाब सङ्कलनको व्यवस्था गर्नेछन् भने क्वारेन्टाइनबाटै स्वाब सङ्कलनको संयोजन स्वास्थ्य कार्यालयका प्रमुखले गर्ने गरी व्यवस्था मिलाइएको छ ।
जिल्लामा ९८ वडा छन् । ती सबै वडामा क्वारेन्टिन बनाइँदै छ । क्वारेन्टिनमा १४ दिनदेखि २१ दिनसम्म राखिने छ । सोही अवधिमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिने छ । उनीहरुमा पोजेटिभ देखिएमा कोरोना अस्पताल पठाइने छ भने नेगेटिभ देखिएमा घर पठाइने छ । मेडिकल कलेज, अस्पतालमा आएका शङ्कास्पद बिरमीको स्वाब सङ्कलन सम्बन्धित संस्थाले गरेर कोभिड–१९ प्रयोगशालामा लैजानेछन् ।
कोरोना अस्पताल सञ्चालन गर्दै आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार कोरोना पोजेटिभ राखिएको अस्पतालमा अन्य काम गर्नु हुँदैन । सरकारले तह एक अर्थात् साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । उहाँका अनुसार तह दुई अर्थात् मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपालगञ्ज मेडिकल कलेज र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तोकेको उहाँले बताउनुभयो । हाल नेपालमा देखिएका बिरामीलाई कोरोना अस्पतालमा उपचार गर्न सकिने रहेका छन् ।
भरतपुर अस्पतालमा सबै किसिमका बिरामीको उपचार गरिनेछ भने कोरोना अस्पतालमा पोजेटिभ भएकालाई मात्र राख्ने र प्रयोगशालामा परीक्षण गरिने उहाँले बताए । जिल्लामा हालसम्म ९९३ को आरडिटी गरिसकिएको छ भने एक हजार १३२ को पिसिआर परीक्षण गरिएको छ ।
आरडिटीका क्रममा रत्ननगर नगरपालिकामा दुई जनामा एन्टिबडी पोजेटिभ र राप्ती नगरपालिकामा एक जना शङ्कास्पद देखिएको थियो । यस्तै पिसिआर परीक्षणका क्रममा राप्ती नगरपालिकाका दुई र नवलपुरका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पुष्टि भएकामध्ये राप्ती नगरपालिका वडा नं ८ का आमा छोरा सङ्क्रमण निको भएर घर फर्किसकेका छन् भने नवलपुरका एक जनाको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । रासस












