चितवन । कोरोना रोगको सङ्क्रमण बढ्दै जाँदा चौबीसै घन्टा सेवामा समर्पित हुने एम्बुलेन्स चालकले भने बाटोमा पानी पनि पिउन नपाउने गरेको बताएका छन् ।

कोरोना आयो भन्दै एम्बुलेन्ससमेत रोक्न नदिने गरेको उनीहरुको गुनासो छ । नेपालमा चार हजार ५०० एम्बुलेन्स छन् । तीमध्ये सबैभन्दा बढी दुई/दुई सय हाराहारी काठमाडौँ र झापामा छन् । त्यसपछिको बढी मोरङ र चितवनमा रहेको एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने जानकारी दिए ।

केहीबाहेक अधिकांश यो सङ्कटको घडीमा कार्यक्षेत्रमा छन् । उनी भन्छन्, “जोखिम मोलेर अहोरात्र खट्दा पनि हाम्रा लागि कसैले हेर्दैनन्”, एम्बुलेन्स चालकहरुमा गुनासाका चाङ छन् उनको भनाइमा बाटोमा पैसा तिरेर पनि खान पाइँदैन । उनले गुनासो गरे, “एम्बुलेन्स रोक्यो भने कोरोना आयो भन्दै घृणा गर्दछन् ।”

बाटोमा पानीसमेत किनेर खान नपाउने गरेको उनको गुनासो छ । यस्तै, एम्बुलेन्स चालकलाई पिपिइ, स्यानिटाइजर र मास्क छैन, भाडाको रकमले स्यानिटाइजर किन्न पुग्दैन ।

यस्तै, प्रहरीले जाँचका क्रममा दुःख दिने गरेको चालकको गुनासो छ । बिरामी झार्ने, अनावश्यक कागजपत्र माग्ने र चालकलाई तथानाम गाली गर्ने गरेको लामिछानेको गुनासो छ । उनले भने, “केहीले कमी कमजोरी गरे होलान्, ती चालक कारबाही गर्नुपर्छ तर सबैलाई जाँचका नाममा ज्याजति गरिन्छ ।”

देशमा सङ्क्रमणमा भिड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारको नाम लिइन्छ, तर सँगै जोखिम मोल्ने र काम गर्ने हामीलाई कसैले सम्झँदैन उनले गुनासो गरे । आठ घन्टा काम गर्ने सरकारका कर्मचारीले तलब स्केलको दोब्बर पाइरहँदा २४ घन्टा काम गर्ने एम्बुलेन्स चालकले रु आठदेखि १० हजारमा काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया