काठमाडौँ । नेपालमा भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार तीन जना संक्रमित थपिएका छन् । कोभिड–१९ बाट संक्रमित हुनेहरुमा बाँकेका नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, खजुरा ३ निवासी ४२ वर्षीया महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुष रहेका छन् ।

यसअघि दाङमा पनि एक जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको जानकारी दिए ।

संक्रमित घोराही उपमहानगरपालिका वडा नंं ३ का ३७ वर्षीय पुरुष हुन् । यसअघि बिहीबार थप २६ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म संक्रमित ४५७ जना पुगेका छन् । कोभिड–१९ को संक्रमणबाट नेपालमा आजसम्म तीन जनाको मृत्यु भएको छ । उनका अनुसार संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

घोराही–कोरोना संक्रमण पुष्टि भएका पुरूष घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा छन् । उनी यही जेठ ५ गते भारतको दिल्लीबाट आएको नगरप्रमुख नरूलाल चौधरीले जानकारी दिए ।

“कोरोना संक्रमण देखिएका व्यक्ति भारतको दिल्लीबाट आएको भन्ने सूचना पाएका छौंँ, उनको सम्पर्कमा रहेकाहरुको खोजी गर्ने काम सुरु भएको छ”, नगरप्रमुख चौधरीले भने ।

संक्रमितसँगै क्वारेन्टाइनमा पाँच जना आएका थिए । ती पुरूषमा कोरोना संक्रमण देखिएसँगै कुइरेपानीको क्वारेन्टाइन बन्द गरिएको छ । यससँगै दाङमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि गढवा गाउँपालिका वडा नं ४ र ५ का दुई पुरूषमा कोरोना पुष्टि भएको थियो । उनीहरूको अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया