काठमाडौँ । पछिल्ला दिनका कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार दोस्रोपटक मात्रै कूल ३६ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना कोरोना सङ्क्रमित भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५८४ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दिया र झापामा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बैतडीको शिवनाथ गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, झापाको झापा गाउँपालिकामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, सुर्खेतको सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा थप तीन जनामा सक्रमण भएको पुष्टि भएको हो ।

हालसम्म कूल ४० जिल्लामा कोरोना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८६, प्रदेश नं २ मा १७२, वाग्मती प्रदेशमा ३२ जना सङ्क्रमित भएका छन् । यस्तै गण्डकी प्रदेशमा पाँच, प्रदेश नं ५ मा २७१, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा १४ जना सङ्क्रमित भएका छन् ।

यसैबीच, शनिबार बिहान काठमाडौँसहित छ जिल्लाका ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा संक्रमण देखिएको बताएका हुन् ।

उनका अनुसार नयाँ संक्रमितमा कपिलवस्तु जिल्लाका आठ, सर्लाहीका १३, बारा एक, काठमाडौँ एक, रुपेन्देही आठ र चितवनका एक जना छन् ।

कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला रहेका छन् ।

सर्लाही गोडैताकविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षीय पुरुष, बारा करैयामाई गाउँपालिकाकी ३७ वर्षीय महिला रहेका छन् ।

यसैगरी, नयाँ सङ्क्रमितमा काठमाडौँका ३५ वर्षीय पुरुष तथा रुपेन्देही गैडहवा र रोहणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष र चितवन भरतपुर महानगर वडा नं ६ का ५२ वर्षीय पुरुषमा संक्रमण देखिएको उनले जानकारी दिए ।

यसैगरी, शुक्रबारमात्रै ५९ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म तीन जनाको मृत्यु भएको छ भने ७० जना पूर्णरूपमा निको भई घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया