काठमाडौँ । नेपालमा सोमबार थप ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार कपिलवस्तु, काठमाडौँ, दैलेख, बाँके, बारा, रौतहट, धनुषा, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालमा थप ७२ सहित कोरोना संक्रमितहरुको कुल संख्या ६७५ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्ज र प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा ७२ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
हालसम्म नेपालका ४२ जिल्लामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये तीनजनाको मृत्यु भएको छ भने आइतबार वीरगञ्जबाट एकै परिवारका १८ जना निको भई घर फकिएसँगै निको हुनेको १०५ पुगेको डा अधिकारीले जानकारी दिए ।
नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका डा अधिकारीले जनाएका छन् ।












