
वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैया उपमहानगर ७ का एक वृद्धमा कोरोना भाइरस संक्रमण देखिएको छ । कलेजले हतारमा शव आफन्तको जिम्मा लगाएका कारण मृतकको अन्तिम संस्कारसमेत भइसकेको छ ।
सो कलेजले लापर्बाहीपूर्ण ढंगले कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षणकै प्रक्रियामा रहेका बेला हतारमै शव परिवारको जिम्मा लगाएको थियो । मृतकको चौंथो रिर्पोट पोजेटिभ आएपछि मेडिकल कलेजलाई छानबिन सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले तीनपटकसम्म ती वृद्धको रिपोर्ट शंकास्पद आएको र चौंथो पटकमा मात्र पोजेटिभ देखिएको बताए । पटक पटक रिर्पोट शंकास्पद देखिँदा यकिन गर्न समस्या भएको थियो ।
जेठ ३ गते संकलन भएको स्वाबको परीक्षण नारायणीको ल्याबमा पहिलोपटक ५ गते शंकास्पद देखिएको थियो । त्यसपछि पुनः ६ गते परीक्षण गर्दा शंकास्पद नै देखिएपछि थप परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले नारायणी अञ्चल अस्पतालमा शंकास्पद देखिएपछि टेकुमा गरिएको परीक्षणमा वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।