फिदिम । इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हबल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोसाकमा खटाइएका प्रहरी हबल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो ।

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए ।

राँके बजारको चामु होटल छेउमा बस्नेत सवार मे ११ प ४६६ नम्बरको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे १ ख १८६३ नम्बरको ट्रक आइतबार दिउँसो ठोक्किँदा बस्नेत गम्भीर घाइते भई ढलेका थिए ।

उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए ।

प्रहरी हबल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया