
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाका कतिपय मुलुकको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी भए पनि ढुक्क भएर बस्ने स्थितिमा नभएको बताएका छन् । नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोनाविरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो रहेको र यस यथार्थप्रति सरकार सचेत रहेको बताए ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सरकारले परीक्षणलाई विस्तार गरिरहेको बताउँदै विज्ञले दिएको सल्लाहबमोजिम कम्तीमा जनसङ्ख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार रहेको जानकारी दिए । उनले भने, “एकमात्र प्रयोगशालाबाट सुरु भएको कोभिड–१९ को परीक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालालाई अहिले तीव्र बनाइएको छ ।”
प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने बताउँदै आफूले नेपालीहरू ठूलो सङ्ख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग पनि गम्भीर संवाद गरिरहेको जानकारी दिए ।
कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीलाई सरकारले समयमै उद्धार गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले भने, “सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।”
उनले आवश्यक ‘खाद्य वस्तुहरुको आयातलाई घटाउने, कृषिमा आत्मनिर्भर हुने, क्रमशः कृषि उत्पादनको निर्यात तीव्र पार्ने र कृषि क्षेत्रमा ठूलो मात्रामा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने’ कार्यक्रम हालै संसद्बाट नीति तथा कार्यक्रमका रुपमा पारित गरिसकिएको बताउँदै कृषि क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानका लागि सो कार्यक्रम समावेश गरिएको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले आवश्यकतानुसार बन्द होटल तथा उपयुक्त सार्वजनिक संरचनालाई समेत क्वारेन्टिनका रुपमा प्रयोग गर्नेबारेमा समेत योजना बनाइएको बताए । प्रदेश र स्थानीय तहसँगको समन्वयमा क्वारेन्टिनकोे प्रबन्ध, राहत वितरण, आपूर्ति प्रणालीको व्यवस्थापन र अनुगमनमा अघि बढाइने उहाँको भनाइ थियो । उनले भने, “क्वारेन्टिनको सङ्ख्या बढाउने र त्यसको स्तरमा पुनरवलोकन गरी व्यापक सुधार गरिनेछ ।”
सरकारले ‘निरोगी नेपाल निर्माण अभियान’ लाई मूल स्वास्थ्य नीति बनाएको बताउँदै उनले प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रबद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले अघि सारेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीबीच पनि अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरवका आयोजनालगायत कतिपय विकास आयोजनालाई अगाडि बढाइएको बताइ । उनका अनुसार कोरोना महामारीबीच माथिल्लो तामाकोशी, मेलम्ची, पोखरा, भैरहवा र काठमाडौंँ विमानस्थल निर्माण/विस्तार तथा रानीपोखरी, धरहरालगायत पुनःनिर्माणका काम अगाडि बढिरहेको छ ।
अहिले अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।
उनका अनुसार सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने सरकारको योजना छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिने र सो प्रणालीमा आबद्ध सबै श्रमिकको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिने उनले बताए ।