चितवन । रत्ननगर नगरपालिकाले ११ वटा वडामा पब्लिक क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याएको छ । शंकास्पद कोरोना संक्रमित तथा विदेशबाट आएका नगरवासीलाई राख्न सो नगरपालिकाले ११ वटा वडामा २४० बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा मंगलबारसम्म ८८ जना रहेका छन् । तीमध्ये ३६ जना भारतबाट आएका हुन् । वडा नं–१ मा बकुलहर माविमा २४ बेड, वडा नं–२ मा वडा कार्यालयको नयाँ भवनमा १० बेड, वडा नं–३ मा वृद्धाश्रम भवनमा ८ बेड, वडा नं–५ मा झुवानी माविमा २४ बेड, वडा नं–६ मा लायन्स डेनमा २४ बेड, वडा नं–७ मा मालपुर माविमा २४ बेडको क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।

त्यसैगरी, वडा नं–१० मा बैरिया माविमा २४ बेड, वडा नं–११ मा गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा २४ बेड, वडा नं–१३ मा पञ्चकन्या माविमा २४ बेड, वडा नं–१४ मा जनजागृति माविमा ३० बेड र वडा नं–१६ मा भद्रकाली माविमा २४ बेडको क्वारेन्टाइन सञ्चालन गरिएको छ ।

वडा नं–४, ८, ९, १२ र १५ मा एक–दुई दिनभित्रै क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याइने तयारी गरिएको छ । क्वारेन्टाइनका लागि आवश्यक पर्ने सबै सामग्री र उनीहरुलाई खानपानको व्यवस्था नगरपालिकाले गरेको छ । मेयर नारायण वनले पब्लिक क्वारेन्टाइनलाई प्रभावकारी बनाएर नगरवासीलाई सुविधा प्रदान गरिने बताए । सरकारले तोकेको मापदण्डअनुसार नै क्वारेन्टाइनको विकास गरिने मेयर नारायण वनले बताए ।

तपाईको प्रतिक्रिया