– नारायण अधिकारी
भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरूवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरूवाघर भरिएको र स्थानीयस्तरमा रहेका होटल बन्द भएपछि खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता उनीहरुको छ ।
अस्पतालको तथ्याङ्कअनुसार अस्पतालभन्दा बाहिर रहेका बिरामीको सङ्ख्या १०० हाराहारी रहेको छ । उनीहरुमध्ये अधिकांशले अस्पतालकै खाली चौरमा खाना पकाउने र बरण्डा, प्यासेजमा बिरामीसहित रातको समयमा ओत लाग्ने गरेका छन् । सिराहाबाट बिरामी बुबालाई लिएर उपचारका लागि वैशाख २२ गते क्यान्सर अस्पताल आइपुगेका सुरेशकुमार यादव त्यसयता खुला आकाशमुनि खाना खानु र बिरामीको रेखदेख गर्दै आएका छन् । “न उपचार नै पाइएको छ । न त बस्न र खानका लागि कतै ठाउँ नै छ”, उनको गुनासो छ ।
“अस्पतालमा आएर उपचार गरेर घर फर्कने समय हुँदासम्म अस्पतालले भर्ना गर्न मानेको छैन”, उनले दुखेसो पोखे । अस्पताल आएको केही दिन अस्पतालभित्रै रहेको चमेनागृहमा खाना खाएको भए पनि पछिल्लो समय त्यहाँ पनि खाना खानका लागि सहज वातावरण नबनेको उनको भनाइ छ । उनले भने, “अस्पतालमा उपचारका लागि भर्ना गरेका बिरामीलाई मात्र भवनमा पस्न दिइएको छ, अरुलाई बाहिर नै राखिएको छ ।” उनले थपे, “बिरामी भर्ना गरेकालाई पास देखाएर भित्र जान दिइएको छ अन्य खुला आकाशमुनि बस्न बाध्य छाँै ।”
यस्तै, सर्लाहीबाट मामाको उपचारका लागि आएका रमित कपाडले उपचारका लागि समय लाग्ने भए पनि गाँसबासको व्यवस्था गरिदिन आग्रह गरे । चौरमा बसेर खाना खाँदै गर्नुभएका उनले बिरामीको भर्ना गर्नसमेत कठिन भएको बताए । “फर्किऊँ अस्पताल आएर उपचार नगरी कसरी फर्किऊँ, बसौँ भने बस्ने र खाने ठाउँ छैन”, उनले भने । पानी पर्दा कहाँ बस्ने कहाँ के खाने झन् ठूलो समस्या हुने उनको भनाइ छ ।
पर्साबाट बिरामी श्रीमती लिएर उपचारका लागि आएका गौरीशङ्कर यादवले अस्पतालमा आएर झन् दुःख पाएको बताए । अस्पतालले उपचारका लागि वैशाख ८ गते बोलाएको भए पनि आउँदा उपचार पाउन नसकेको उनको गुनसो छ । उनले भने, “उपचारका लागि समय लाग्ने भए पनि बस्न र खानका लागि आकाशको छानो बनाउनुपरेको छ ।” रातको समय पनि खुलाचौरमै बिरामी लिएर बस्नुपर्ने कस्तो समय आयो उनले दुखेसो गरे ।
कञ्चनपुरबाट बिरामी लिएर आएका कान्छाराम चौधरीले विगत १० दिनदेखि चौरमै बास भएको बताए । सुरूआतको समयमा अस्पतालको पेटिमा सुत्नसम्म पाइएको भए पनि अहिले त्यहाँ पनि जान दिँदैनन् उनले भने । चौधरीले भने, “बिरामीलाई उपचारका लागि आफूहरु आएको भए पनि न उपचार समयमा पाइएको छ न खान बस्ननै ।” फर्कनका लागि कसरी फर्कनु न सवारीसाधन नै चलेका छन् उनले गुनासो पोखे ।
लहानबाट बिरामी लिएर आएकी सङ्गीता चौधरी अस्पतालभित्र सञ्चालनमा रहेको चमेनागृहमा समेत हेर्ने दृष्टिकोण फरक रहेको बताइन् । उनले भनिन्, “पैसा तिरेर खान्छौँ भन्दा पनि राम्रो व्यवहार छैन । अहिले त त्यहाँ अस्पतालका कर्मचारी र भर्ना गरेर राखिएका बिरामीलाई मात्र पस्न दिइने गरेको छ ।”
बिरामीको उपचार प्रक्रिया सुरू भएमा मात्रै पनि कुरूवा जसरी पनि बस्न सकिन्थ्यो उनको गुनासो छ । अहिले दिनहुँजसो पानी पर्दा खुला आकाशमुनि खाना बनाउनसमेत उनीहरुलाई समस्या भएको छ ।
कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण देश नै आक्रान्त बनिरहेको समयमा उपचारका क्रममा आएका बिरामी र उनीहरुको कुरूवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आवश्यक हुनेलाई मात्र भर्ना लिइएको बताए ।
अस्पतालमा बुधबार १३३ बिरामी भर्ना भएको र १०० हाराहारी बाहिर रहेको उनले बताए । ५० बिरामी राख्न मिल्ने कुरूवा घर भरिएको र बाहिर होटल, रेष्टुरेन्ट बन्द भएपछि बिरामी र कुरूवाका आफन्त बाहिर खान र बस्न बाध्य भएको उनले बताए । दैनिक अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी लिएर ५० हाराहारी एम्बुलेन्स आउने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले त्यहाँ बिरामी र कुरूवाको अवस्था दयानीय देखिएको बताए । आफूले अस्पतालभित्र रहेका खाली भवन वा अस्थायी टहरा निर्माण गरेर भए पनि उनीहरुको व्यवस्थापन गर्न निर्देशन दिएको बताए । ७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी बिरामीसँग एक जना आफन्त मात्र पठाउन अनुरोधसमेत गरेको भट्टराईले जानकारी दिए ।
सामान्यतया तीन साताको फरकमा क्यान्सरका बिरामीलाई केमो दिने गरिन्छ । टाढाबाट आएका बिरामी जान आउन कठिन भएकाले त्यही बाहिर बसेर कुर्ने गरेको पाइएको छ ।
यसैगरी केही विभागमा बहिरङ्ग सेवा नियमित नहुँदा र बिरामीको परीक्षणका नतिजा आउन ढिलाइ गर्दा पनि कुर्ने बिरामीको सङ्ख्या थपिएको हो ।
विसं २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपाल र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । यस अस्पतालले वार्षिक १० हजार हाराहारी बिरामीको उपचार गर्दै आएको छ । (रासस)














