काठमाडौँ । नेपालमा बुधबार कोरोना भाइरसको संक्रमितको संख्या एकैदिन १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँ, धरान, विराटनगर, पोखरा, हेटौँडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएका हुन् । पछिल्लोपटक सप्तरीमा ११ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९०१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७, हेटौँडामा भएको परीक्षणमा रौतहटका सातसहित आठ जना, पोखरामा भएको परीक्षणमा बागलुङका छ जनामा पोजेटिभ देखिएको छ ।

यसैगरी, दाङमा भएको परीक्षणमा रुकुमपूर्वका तीन, दाङका १५ सहित १८, बाँकेको भेरी अस्पतालमा १६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

यसैगरी, बुधबार कर्णाली प्रदेशअन्तर्गत वीरेन्द्रनगरको प्रयोगशालामा गरिएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको छ । कुल संक्रमितमध्ये ८०५ पुरुष र ९६ महिला रहेका छन् । नेपालमा हालसम्म कोरोनाका कारण पाँचौ व्यक्तिको मृत्यु भएको छ । ललितपुर २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा मृत्यु भएको हो । उनको बुधबारै रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म १८३ जना संक्रमित निको भई घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया