चितवन । चितवनको भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा नमुना परीक्षण गरिएका थप एक जनासहित बिहीबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेठ १० गते भारतको हरिद्वारबाट नेपाल आई नवलपुरको बर्दघाट (सुस्ता) पूर्व देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका देवचुली १ नवलपुरका वर्ष १९ का युवाको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

यसैगरी, गण्डकी प्रदेशको स्याङ्जास्थित क्वारेन्टाइनमा रहेका एक महिलासहित तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी, प्रदेश नं २ मा ७६ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा दुई जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेमा सबैभन्दा बढी धनुषाका छन् । धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९७८ पुगेको छ । बुधबार ललितपुरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८३ जना निको भई घर फर्किएका छन् । मन्त्रालयले थप संक्रमित र मृत्यु हुनेको संख्या भने अद्यावधिक गरेको छैन ।

तपाईको प्रतिक्रिया