काठमाडौँ । नेपालमा एकैदिन २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिला संक्रमित भएको जानकारी दिए ।

मंगलबार देखिएको संक्रमण हालसम्मकै बढी हो । यसअघि सोमबार २३९, शनिबार १८९ र शुक्रबार १७० जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । जसमा पुरुष एक हजार ९४९ र महिला १५० रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म ६१ जिल्लामा कोरोना फैलिसकेको छ ।

मंगलबार देखिएका संक्रमितमध्ये सबैभन्दा बढी रौतहटका छन् । रौतहटमा ७४ जना संक्रमित थपिएका छन् । यसैगरी, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आठ वर्षीया बालिकादेखि ६० वर्षसम्मका ३८ जना रहेका छन् ।

यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा रौतहटका ३६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु १२ वर्षदेखि ४८ वर्षसम्मका रहेका छन् । यस्तै, सर्लाहीका १३ वर्षदेखि ४० वर्षसम्मका २१ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, सिराहामा १६ देखि ४२ वर्षसम्मका १७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रदेश नं २ अन्तर्गत धनुषामा ६ जना, महोत्तरीमा दुई जना, सप्तरीमा एक र बारामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच, काठमाडौँ मेडिकल कलेजमा कार्यरत दुई महिला र एक पुरुष स्वास्थ्यकर्मी तथा मनमोहन मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कायैरत एक नर्स गरी चार जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी, बागमती प्रदेशको भक्तपुरकी एक महिला, परोपकार प्रसुति अस्पतालमा उपचाररत धादिङकी २३ वर्षीया युवती, नुवाकोटका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै, बाँकेमा १७ जना, बर्दियामा ३ जना, कपिलवस्तुमा १६ जना, रुपन्देहीमा १० जना, दाङमा थप १७ जनामा, प्युठानमा एक जना, नवलपरासी पूर्व, बुलिङटारमा एक जना र नवलपरासी पश्चिम रामग्राममा एक पुरुषमा संक्रमण देखिएको छ ।

यसैगरी, स्याङ्जा ५ जना, सुर्खेतमा थप २७ जना, दैलेखमा ९ जना, सल्यानमा थप १८ जना, कैलालीमा १० जना, कञ्चनपुरमा ८ जना, अछाम १० जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आठ जनाको ज्यान गएको छ भने २६६ जना निको भई घर फर्किएका छन् । नेपालका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको संख्या एक हजार ८२५ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया