-अजित अधिकारी
वीरगञ्ज । जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार साँझ सम्पन्न बैठकले निश्चित मापदण्ड बनाएर वीरगञ्ज बजार खोल्ने निर्णय गरेको छ ।
बैठकले छिट्टै वीरगञ्ज उद्योग वाणिज्य संघमार्फत बजार खोल्न बनाइएको मोडालिटीलाई सबै उद्योगी व्यवसायीहरुलाई जानकारी गराएपछिमात्रै लकडाउन खुकुलो गरिने र त्यसपछिमात्रै बजार खुल्ने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
यसका लागि बुधबारबाटै विपद् व्यवस्थापन समितिले आवश्यक तयारी थालेको र २४ देखि ४८ घन्टाभित्र सम्पूर्ण तयारी पूरा गरेपछिमात्रै बजारलाई व्यवस्थित तरिकाले खुल्ला गरिने एसपी पन्तले जानकारी दिइन् । उनले कसैको बहकाउ र हल्लामा नलागी प्रहरी प्रशासनले जारी गरेको सूचना पछिमात्रै बजार खोल्न पनि उद्योगी व्यवसायीहरुलाई आग्रह गरेकी छन् ।
यता लकडाउनबाट आजित भएका वीरगञ्जका व्यवसायीहरुले आंशिकरुपमा पसल खोल्न सुरु गरेका छन् । लकडाउनको उल्लंघन गर्न आफूहरु बाध्य भएको व्यवसायीहरुले बताएका छन् ।
वीरगञ्जको आदर्शनगर, माईंस्थान, महावीर स्थान, क्षेत्रमा रहेका पसलहरु आंशिकरुपमा सञ्चालन भएका छन् । वीरगञ्जका व्यापारीहरुले लकडाउनको मोडालिटी फेरेर पसल र बजार सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै गत आइतबार प्रदर्शनसमेत गरेका थिए ।
कोरोना संक्रमण फैलिने त्राससँगै आम उपभोक्ताहरु खाद्यान्न र विभिन्न उपभोग्य समाग्रीहरु नपाउँदा समस्या भोगिरहेका छन् । उद्योगी व्यवसायीहरुले गोदाममा राखिएको सामान लकडाउनको कारण बिक्री नहुँदा बिग्रिने अवस्थामा पुगेको गुनासो गरेका छन् ।
लामो समयको लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि बजारलगायत उद्योग कलकारखाना स्वतःस्फूर्त रुपमा खुल्ने क्रम सुरु भएको छ । यसलाई व्यवस्थित गर्न सरकारले लकडाउनको मोडालिटीलाई परिवर्तन गर्नुपर्ने मागसमेत आम उद्योगी व्यवसायीहरुले गरेका छन् ।














