-अजित अधिकारी
चितवन । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड १९ अर्थात् कोरोना भाइरसको सन्त्रास र प्रकोपका कारण विश्वको जनजीवन नै प्रभावित भइरहेको छ ।
यसअवस्थामा यसको नियन्त्रण र रोकथाम गर्नको लागि विगत लामो समयदेखि माडी क्षेत्रमा रहेर सामाजिक योगदान र सेवामा अनवरत रूपले लागेका सफल व्यवसायी एवं सामाजिक अभियन्ताहरु श्रीप्रसाद दवाडी र छविलाल अधिकारीले माडी क्षेत्रमा रहेर सुरक्षा प्रदान गर्दै आएका जनपथ सेवामा कार्यरत सुरक्षाकर्मीहरुको टोलीलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
अहिलेको विषम परिस्थितिमा आफ्नो ज्यानको बाजी लगाएर अहोरात्र जनताको सेवामा खटिएका प्रहरीको उच्च सम्मान गर्दै हालै एक कार्यक्रमबीच माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकाललाई सामाजिक अभियन्ता दवाडी र अधिकारीले मेयर ढकालमार्फत माडीको जनपथ र सशस्त्र प्रहरी बललाई ग्लोब्स, मास्क र स्यानिटाइजर प्रदान गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन अहोरात्र बाहिर सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको स्वास्थ्य अवस्था र यो अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाको लागि एक हजार थान ग्लोब्स, ८०० थान फेस मास्क र १७ बोत्तल स्यानिटाइजर हस्तान्तरण गरिएको अभियन्ताद्वय दवाडी र अधिकारीले जानकारी दिए ।