चितवन । जारी लडडाउनको बेला नागढुंगामा केही उच्छृंखल युवाहरुले स्वास्थ्यकर्मीको गाडी रोकेर खानतलासी गरिरहेका बेला डा सन्तोष शर्मा भुषाल भने कालिका नगरपालिकाको पदमपुरस्थित प्रकाश क्लिनिकमा बिरामी जाँच्दै थिए ।

उता स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुँदै थियो । यता डा भुषाल दर्जनौँ बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका थिए । जारी लकडाउनकाबीच पनि बिरामीहरुको स्वास्थ्य परीक्षणका लागि उनी गाउँगाउँमा थिए ।

जनरल फिजिसियन डा भुषाल अहिले पनि निरन्तर गाउँघरमै पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् । कोरोना महामारीबीच पनि भरतपुरदेखि पूर्वी चितवनको गाउँगाउँमा पुगेर स्वास्थ्य परीक्षण गर्नु चानचुने कुरा होइन । गाउँगाउँमै पुगेर सेवा दिएकै कारणले होला पूर्वी चितवनमा उनी लोकप्रिय डाक्डरका रुपमा परिचय बनाएका छन् । जारी लकडाउनका बीच पूर्वी चितवनको टाँडी, पर्सा, भण्डारा, सौराहा, जुटपानी हुँदै पदमपुरसम्म पुगेर सेवा दिइरहेका छन् ।

झोलामा मास्क, सेनिटाइजर, पिपिई र एन–९५ मास्कलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु बोकेर गाउँगाउँ पुग्ने गरेका छन् । जारी लकडाउनका कारण बिरामी सहजै अस्पतालसम्म पुग्न सक्ने स्थिति छैन । अस्पताल पुगेकाहरुले पनि सजिलै उपचार पाउन नसकेका बेला सर्वसाधारणहरुले गाउँघरमै स्वास्थ्य परीक्षणदेखि आवश्यक परामर्श लिन पाइरहेका छन् ।

उनलाई भेट्न गाउँका टोलटोलबाट विभिन्न उमेरका बिरामीहरु आउने गरेका छन् । उनको सेवाले ज्येष्ठ नागरिकदेखि बालबालिकासम्मलाई राहत पुगेको छ ।
उनले कुनै जटिल समस्या देखियो भने समस्यासँग सम्बन्धित चिकित्सकलाई नै सम्पर्क गराई अस्पतालसम्म पुग्ने वातावरणसमेत तयार पार्दै आएका छन् ।

भरतपुरमा जन्मिएका डा भुषालले गाउँगाउँमा सेवा दिन पाउँदा आफूलाई खुसी लाग्ने गरेको नेपालीको आवाजलाई बताए । यसअघि चितवन मेडिकल कलेज, मोडल अस्पताल भरतपुरमा रहेर बिरामीलाई सेवा दिँदै आएका डा भुषाल अहिले पूर्ण गाउँघरकेन्द्रित स्वास्थ्य सेवामा तल्लिन छन् ।

डा भुषाल जस्तै धेरै चिकित्सकहरु जारी लकडाउनकाबीच पनि स्वास्थ्य सेवामा सक्रिय भएर निरन्तर जुटेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी सबैले आफू र आफ्नो परिवारलाई जोखिममा राखेर दैनिक बिरामीहरुको स्वास्थ्यसेवामा खटिएका छन् । चितवनका सबैजसो चिकित्सकहरु यतिबेला कार्यक्षेत्रमै छन् । उनीहरुको मनोबल बढाउनु अहिले सबैको कर्तव्य हुन आउँछ ।

अहिले पनि नेपाल मेडिकल कलेज (एनएमसी) का स्वास्थ्यकर्मीहरु प्रदर्शन गरिरहेका छन् । इमर्जेन्सी, फिवर क्लिनिक र आइसोलेसनबाहेक सबै सेवा बन्द गरेर कलेजका मेडिकल डाक्टर, इन्टरनल डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।

बिरामी जाँँच्ने क्रममा चिकित्सकमाथि हातपात भएको विरोधमा आन्दोलनमा उत्रिनुपरेको हो । यतिबेला बिरामीहरुको स्वास्थ्य सेवामा खटिएका चिकित्सक वा स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने कामलाई निरुत्साहित गर्दै मनोबल बढाउने काममा सबै लाग्नु आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया