नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १६ वर्षीया सुत्केरी आमाको अत्यधिक रक्तश्रावका कारण निधन भएको छ ।

देवचुली नगरपालिका–९ निवासी १६ वर्षीया एकमहिने सुत्केरी आमा शान्ति आलेको अत्यधिक रक्तश्रावका कारण निधन भएको देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले जानकारी दिए ।

देवचुली नगरपालिका–९ का वडा अध्यक्ष मेखबहादुर सारुका अनुसार उनको जेठ २२ गते राति निधन भएको हो । उनको बच्चा भने जीवितै र स्वस्थ रहेको छ । वडाध्यक्ष सारुका अनुसार वैशाख १६ गते भरतपुर अस्पतालमा सुत्केरी भएकी उनी सुरूमा स्वस्थ थिइन्, तर घर आएको केही दिनपछि बिरामी हुन थालेपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

अध्यक्ष सारुले अत्यधिक रक्तश्रावका साथै निमोनिया, टाउको दुख्ने र दीर्घरोगसमेत रहेका कारण उनको निधन भएको अस्पतालले जनाएको बताए । निधन भएकी आलेको १५ वर्षको उमेरमा १७ वर्षका युवक सुदीप महतोसँग प्रेमविवाह भएको थियो ।

त्यतिबेला कक्षा ७ र ९ मा पढ्ने उनीहरुबीच प्रेमपछि उनी गर्भवती भएकै कारण उनीहरुको विवाह भएको बालमैत्री परामर्शदाता खिमानन्द भुसालले बताए ।

तपाईको प्रतिक्रिया