काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले डोल्पा र कैलालीमा एक/एक जनाको कोभिड–१९ का कारणले मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नं ४ कि ५५ वर्षीया महिला र डोल्पा जगदुल्लाका ५८ वर्षका पुरुषको कोभिड– १९ का कारण मृत्यु भएको हो । महिलाको डायलासिस गर्दागर्दै यही जेठ २३ गते र पुरुषको जेठ २१ गते राति मृत्यु भएको थियो ।

सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएकी महिलाको मृत्यु भएको थियो । महिलाको सेती प्रादेशिक प्रयोगशाला र पुरुषको कर्णाली विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो ।

पुरुष सुर्खेतबाट जेठ १६ गते गएर जेठ १८ गते क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेका बेला उनको निधन भएको थियो ।

पुरुष दमका बिरामी रहेका थिए । कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि कर्णाली विज्ञान प्रतिष्ठानबाट टोली गइरहेको छ । अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले थप ३२३ जनामा सङ्क्रमण भएको पृष्टि गरे । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २८६ पुरुष र ३७ महिलामा सङ्क्रमण भएको पृष्टि गरे ।

थपिएका कुल सङ्क्रमितको सङ्ख्या तीन हजार २३५ पुगेको छ । तीमध्ये पुरुष तीन हजार तीन र महिला २३२ रहेका छन् । नयाँ भेटिएका सङ्क्रमित जाजरकोट र डोल्पाका पनि रहेका छन् । यसरी सङ्क्रमित जिल्ला ७० पुगेको छ ।

तपाईको प्रतिक्रिया