काठमाडौँ । नेपालमा आइतबार एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् ।

कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिए । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले आज डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताए ।

अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेको छ । तीमध्ये पुरुष ३९९ र महिला ६८ जना रहेका छन् । उनीहरुमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै बाराका ३४ र महोत्तरीका एकजना छन् ।

बुटवल कोरोना अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु रुपन्देही र कपिलवस्तुका हुन् । कोरोना विशेष अस्पताल दाङबाट बाँके बर्दिया र कपिलवस्तु र दाङका १० जना डिस्चार्ज भएका छन् । रौतहट गौरबाट सबै रौतहटका १८ जनाले कोभिड जितेर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया