नवलपरासी । नवलपरासीको बर्दघाट सुस्तापश्चिममा पछिल्लोपटक बाबु-छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

सङ्क्रमित बाबुछोरी केही दिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको यसअघिको आरडिटी परीक्षणमा पनि नतिजा पोजेटिभ आएको थियो । स्वाब सङ्कलन गरी परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालमा पठाइएकामा उनीहरुको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै पाल्हीनन्दनमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २१ पुगेको छ । यस्तै निको हुनेको सङ्ख्या तीन पुगेको छ । प्रतापपुर र सुस्ता गाउँपालिकाका तीन सङ्क्रमित कोरोनामुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया