–सुरेश झा
हेटौँडा । नेपाली अनुसन्धानकर्ता डा ललितकुमार दासले कोरोना भाइरसविरुद्ध विकास गरेको भनिएको औषधिको प्रयोगात्मक परीक्षणको प्रक्रियामा ढिलाइ हुँदा हेटौँडावासी चिन्तित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा दासले कोरोना भाइरसविरुद्ध खोप विकास गरेको भनिएको एक हप्ताभन्दा बढी भए पनि हालसम्म त्यसको प्रयोगात्मक परीक्षण हुन नसक्दा उनीहरु चिन्तित बनेका हुन् ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध खोपको निराशाजनक रुपमा आगमनको आशामा विश्व रहेको बेला सम्भावित खोपको पहिलो चरणको विकास हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा गरिएको जिकिर गरिएको छ ।

“नेपाली अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्ध खोपको विकास गर्नु हाम्रा लागि गौरवको विषय हो, यसको छिटोभन्दा छिटो परीक्षण हुनुपर्छ”, हेटौँडा–४ का रामप्रसाद अधिकारीले भने, “अहिले खोपको व्यापक चर्चा छ । खोप त बन्यो तर यसको प्रयोगका लागि सरकारको सम्बन्धित निकायले यथाशीघ्र परीक्षण गरेर त्यसको नतिजा सार्वजनिक गर्न सक्नुपर्दछ ।”

दुई महिनाभन्दा बढी समयको अथक प्रयास र अनुसन्धान गरेर डा दासले उक्त खोपको विकास गरेको जिकिर गरेका छन् ।

खोप निर्माण भइसकेपछि बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले डा दाससँग आफ्ना मन्त्रालय मातहतका सचिव तथा विशेषज्ञसहित छलफल गरेका थिए । त्यसपछि मन्त्री दुलालले नेपाल स्वास्थ अनुसन्धान परिषद्का विशेषज्ञसँगसमेत भिडियो कन्फ्रेन्समार्फत त्यसको परीक्षण गराउने सम्बन्धमा छलफल गरेका थिए । अहिलेसम्म त्यसको परीक्षण हुन नसक्दा सर्वत्र गुनासो बढेको पाइएको छ ।

खोप विकास भएको सार्वजनिक भएपछि उक्त प्रयोगशालामा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय विभिन्न सञ्चारमाध्यमका पत्रकारको भीड हुने गरेको सो अध्ययन संस्थानका अर्का सहप्राध्यापक दामोदर गैरेले जानकारी दिए ।

जडीबुटी विशेषज्ञ एवं उक्त खोप विकासमा सहयोगी प्राध्यापक गैरेले उक्त औषधि कहिले परीक्षण गराउने हो भन्ने विषयमा पत्रकारको जिज्ञासा अत्यधिक रहेको बताए ।

वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी गरेका डा दासले कोरोना भाइरस नियन्त्रणका लागि केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको प्लान्ट लिएर शोध गरी उक्त औषधिको विकास गरेका हुन् ।

विभिन्न १५ किसिमका स्वास्थ्यवद्र्धक जडीबुटीबाट यो खोपको विकास गरिएको जिकिर गरिएको छ । उक्त खोपको परीक्षण कहिलेदेखि हुन्छ भन्ने जिज्ञासामा डा दासले नेपाल सरकारको माध्यमबाट छिटो परीक्षण हुने र त्यसका लागि सामाजिक विकासमन्त्री दुलाल लागेको प्रतिक्रिया दिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत सो खोप सम्बन्धमा डा दाससहित ७३ राष्ट्रसँग भिडियो कन्फ्रेन्समार्फत् छलफल गरी आवश्यक सुझावसमेत दिएको छ । त्यसपछि यो खोपप्रति नेपाली जनताको चासो बढ्दै गएको छ । अहिले सो प्रयोगशालामा खोपसम्बन्धी जानकारी लिनका लागि भीड लाग्ने गरेको त्यहाँका कर्मचारी बताउँछन् । रासस

तपाईको प्रतिक्रिया