सर्लाही । करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लालबन्दीतर्फ लगिँदै गर्दा राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैगरी, सर्लाहीको वाग्मती नगरपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । वाग्मती नगरपालिका–७ स्थित वाग्मती नदीको बगरमा नाम, थर, वतन नखुलेको करिब ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

खोलाले बगाएर लयाएको अवस्थामा शव सडेको अवस्थमा फेला परेको उनले बताए । फेला परेको पुरुषको उचाइ पाँच फिट तीन इन्च र कम्मरमा गम्छा बेरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया