काठमाडौँ । प्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्सा अंकित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चोकमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रिय युवा संघ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन मोरङद्वारा आयोजित उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेतीलगायत नेता कार्यकर्ताले नेपालको नक्शामा मैनबत्ती बाली दीप प्रज्वलन गरेका थिए ।

सो अवसरमा सर्वसाधारणले पनि दीप प्रज्वलन गरेका थिए । यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि, वरागाछीसमेतमा नक्सा अंकित निशान छाप पारित भएको खुसीमा दीप प्रज्वलन गरिएको छ । खुशियाली मनाउन सर्वसाधारण नागरिकले आफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।

यसैगरी, नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ पारित भएको खुशियालीमा आज तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ ।

सत्तारुढ नेकपा व्यास नगर कमिटीले दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेको हो ।

भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै नेपाल कम्युनिष्ट पार्टीले दमौलीस्थित मुख्यचोकमा दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले संविधान संशोधन विधेयक पारित भएका दिन नेपाली जनताका लागि गर्वको दिन रहेको बताउँदै भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन नेपाली जनता एकजुट हुनुपर्ने बताए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्शा र निशान छापको अद्यावधिकका लागि आज गरिएको नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा स्याङ्जामा दीपावली गरिएको छ ।

जिल्ला सदरमुकामस्थित शहीदचोकमा दीपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए । यसैगरी वालिङ उद्योग वाणिज्य संघले पनि दीपावली गरेको छ ।

नेपालको नयाँ राजनीतिक नक्शालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको खुशीयालीमा नेकपा बाजुराले मार्तडीमा दीप प्रज्वलन गरेको छ ।

नेकपाका नेतासहित युवाहरुले नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा समावेश भएको विधेययक प्रतिनिधिसभाबाट पारित भएपछि बेलुकी जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको नेकपा प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया