चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालमा रहेका दुई महिलासहित १७ लाई शनिबार साँझ भरतपुर अस्पताल सारिएको हो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालको शौचालयमा समस्या देखिएको छ ।

यसैगरी पङ्खालगायतको मर्मतसम्भार गर्नुपर्ने भएपछि सङ्क्रमितलाई सारिएको हो । कोरोना अस्पतालमा हाल पाँच जना रहेका छन् । तिनीहरुमध्ये अधिकांशले १४ दिन पार गरेकाले घर पठाउने तयारी गरिएको छ ।

सङ्क्रमित भएको ठाउँमा मर्मतसम्भारको काम गर्न नमिल्ने भएकाले सङ्क्रमितलाई सारिएको हो । सो ठाउँलाई निर्मलीकरण गरेर मर्मतसम्भारपछि सङ्क्रमित राखिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार अस्पतालको हाडजोर्नी र सर्जरी विभागका सङ्क्रमितलाई स्थानान्तरण गरिएको छ । हाडजोर्नीकालाई स्पाइनल र सर्जिकललाई मेडिकल वार्डमा सारेर ठाउँ खाली गरिएको छ ।

ती दुई वार्ड र क्याबिनमा ६५ सङ्क्रमित राख्न सकिने तिवारीले जानकारी दिए । अस्पतालले कोभिड–१९ का लागि १० शैय्याको सघन उपचारकक्ष तयारी अवस्थामा राखेको छ । सङ्क्रमित अरु थप भएमा विभाग खाली गर्दै लगिने उनले जानकारी दिए ।

भरतपुर अस्पतालमा रहेका नौमध्ये दुई घर फर्किँदैछन् । त्यहाँ थप १७ जना लगिएको हो । उनीहरुलाई अस्पतालको पछाडिपट्टिबाट छुट्टै बाटो बनाएर सो क्षेत्रलाई सिल गरी व्यवस्थित ढङ्गबाट राखिएको तिवारीको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया